असोज २, एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा रियल मड्रिड नमिठो हार बेहोरेको छ । बुधबार राति समूह चरणको पहिलो खेलमा रियल मड्रिडलाई फ्रेन्च क्लब पिएसजीले ३-० ले पराजित गरेको हो ।
पिएसजीलाई शानदार जित दिलाउनको लागि अर्जेन्टिनी विंगर एन्जल डि मारिया नायक बने । उनले दुई गोल गरे भने एक गोल थोमस म्युनिरले गरे । स्मरण रहोस्, डि मारिया रियल मड्रिडकै पूर्वखेलाडी हुन । सन २०१० मा बेन्फिकाबाट रियल मड्रिड गएका थिए । त्यसपछि उनी पिएसजीमा अनुबन्धित भएका थिए । खेल शुरु भएको १४ औं मिनेटमा डि मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३औं मिनेटमा उनले निकै दर्शनीय गोल गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २-० गोल अन्तरको अग्रता लिएको पिएसजीले दोस्रो हाफमा पनि एक गोल थप्यो । इन्जुरी समयमा म्युनिरले गोल गरे । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पिएसजीले ३-० ले जित्यो । यो जितसँगै पिएसजी समूह ‘ए’मा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित रियल सबैभन्दा पुछारमा छ ।

