भदौ ३१, काठमाडौं । अण्डाको मूल्यले खर्च धान्न नसकेपछि व्यवसायबाट विस्थापित हुने अवस्थामा आएको अण्डा उत्पादक किसानले गुनासो गरेका छन् ।
सोमबार अण्डा उत्पादक किसानले पशु सेवा विभागको ध्यानाकर्षण गराउँदै अण्डाको मूल्य निर्धारणमा सरकारले हस्तक्षेप नगरे आत्मनिर्भर क्षेत्र धरासायी बन्ने बताए । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अहिले निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न छाडेको छ । संघले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रू. २७० तोके पनि हाल कृषकको फार्मबाट रू. २२५ को हाराहारीमा विक्री भैरहेको छ । खपत बढ्न नसक्नु र उत्पादन बढी भएकाले कृषकले मूल्य नपाएको केसीको भनाइ थियो । दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको बताए । संघका अनुसारर एउटा अण्डा उत्पादन गर्न रू. १० भन्दा बढी खर्च हुने भए पनि अहिले कृषकले रू. ७ को हाराहारीमा मात्र पाएका छन् । एउटै अण्डामा रू. ३ भन्दा बढी नोक्सान बेहोर्नु परेका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको संघको भनाइ छ ।
पशु विभागमा पुगेका अण्डा व्यवसायहिरुले आफूहरु व्यवसाय गर्न नसक्ने भनेर भन्नका लागि विभाग पुगेको बताएका थिए । पशु सेवा विभागका महानिर्देशक बंशी शर्माले अण्डा उत्पादक लागत निर्धारण र बजारीकरण लगायतका समस्या गम्भिर रुपमा उठेपनि बजारमा हस्तक्षेप गर्न नसकिने बताए ।

