भदौ २७, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डेंगु परीक्षण गराउन आउनेको संख्यामा कमी नआएपछि सार्वजनिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गरेको छ ।
अस्पतालका कार्यकारी अधिकृत रुपनारायण खतिवडाले बिरामीको चाप नघटेपछि आज इन्द्रजात्राकोे बिदा र भोलि शनिबारको बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालले निर्णय गरेको र ल्याब तथा सबै सेवा नियमित रुपमा सञ्चालन गरिने बताए । अस्पतालले डेंगु परीक्षणकै सहजताका लागि ओपीडी बाहेक थप दुईवटा फिबर क्लिनिक पनि सञ्चालनमा ल्याएको छ । मेसिन कम हुँदा बिरामीको चाप नियन्त्रणमा समस्या आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा मेसिन थप गरेपछि बिरामीको चाप नियन्त्रण गर्न सहज हुँदै गएको उनले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले गत साता अस्पतालको अनुगमनमा क्रममा डेंगु परीक्षण तथा उपचार निःशुल्क गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका थिए । तर, अहिलेसम्म सो निर्देशन कार्यान्वयनमा नआएको बिरामीले बताएका छन् । अस्पताल प्रसासनले भने डेंगुका बिरामीलाई निःशुल्क उपचार गर्न कुनै आधिकारिक पत्र नआएको बताउँदै आएको छ । डेंगु परीक्षण गर्ने किटको पाँच सय रुपैयाँ लिए पनि बेडको शुल्क भने नलिएको अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए । उनले भने, “अस्पतालमा दैनिक रुपमा ज्वरोका बिरामी झन्डै नौ सयजना गरेका छन्, जसमा ६ सयभन्दा बढीको डेंगु परीक्षण गर्ने गरिएको छ ।”

