भदौ २७, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले सुगन्धित इ–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।
खासगरी किशोरबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या उत्पन्न हुने गरेको अध्ययनले देखाएका छन्। पछिल्ला केही अध्ययनले सुगन्धित इ–चुरोटको सेवनकै कारण पनि किशोर–किशोरीको मृत्यु हुने गरेको पाइएको छ। ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानिया ट्रम्प इ–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताएका छन्। ‘हामी दुवैले ती किशोरको व्यथा पढेका छौं,’ उनले भने, ‘हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन् र इ–चुरोटको सेवनबाट मानिसको ज्यान गइरहेको छ।’
ह्वाइट हाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग ९एफडिए० का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी थिए । इ–चुरोटको नियमन गर्ने एफडिए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो। त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता इ–चुरोटका बारेमा नयाँ नियम ल्याइने बताएका छन्। ‘सुर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित इ–चुरोट बजारमा अब बेच्न पाइने छैन,’ उनले भने । उनले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी पनि दिएका छन् । – एजेन्सी

