भदौ २६, काठमाडौं । यात्रुहरुसँग शिष्ट र सभ्य व्यवहार गर्न ट्राफिक प्रहरीले यातायात कम्पनीका कर्मचारीलाई आग्रह गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर, कोटेश्वर प्रभाग र यातायात व्यवसायीहरुले बिहीबार बिहान संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा महाशाखाका प्रमुख, एसएसपी भीम ढकालले यातायात व्यवसायी र कर्मचारीहरुसँग यस्तो आग्रह गरेका हुन् । “यात्रुहरुसँग नरम भएर बोल्नुस्, सभ्य व्यवहार गर्नुस् । बीच बाटोमा पुगेर थोत्रे गाडीमा हाल्ने नगर्नुस् । एक पटक राम्रो व्यवहार गरेका यात्रुहरु फेरि तपाईंहरुलाई सम्झिएर आउनेछन् । यसलाई मनन् गर्नुस्,” एसएसपी ढकालले भने, “खाडी मुलुकमा, चीन र जापानजस्ता मुलुकमा सेवाग्रहीसँग सेवाप्रदायकले हृदयदेखि नै सम्मान गर्छन् । झुकेर अभिवादन गर्छन्, यस्तो कामको हामीले पनि सिको गर्दै नमस्कार अभियान चलाउनुस् ।” प्रहरी र यातायात व्यासायीहरुले कोटेश्वरका यातायात काउन्टरमा कार्यरत कामदारलाई बिहीबारबाटै पोशाक र परिचयपत्र अनिवार्य गर्ने कार्यको सुरुवात गरेका छन् ।
“हामीले केही दिनअघि कलंकीका काउन्टरमा पनि यो काम सुरु गरेका छौं । यो नमुना कार्यक्रम हो । आउँदा दिनमा उपत्यकाभर यो कार्यक्रम लागू गरिनेछ । यात्रुले राम्रो यातायात सेवा पाउन यो कार्यक्रमले सहयोग पुग्नेछ । उपत्यकामा भित्रिनेमध्ये ३० प्रतिशत यात्रु कोटेश्वर नाका भएर प्रवेश गर्ने हुँदा यहाँका यातायात कर्मचारी सभ्य र शिष्ट भए अरुलाई पनि थप हौसला मिल्नेछ ।” एसएपी ढकालले चाडपर्वका बेलामात्र होइन, सबै समयमा यातायात व्यवसायीसँग ट्राफिक प्रहरीको सहकार्य रहने प्रतिवद्धता जनाउँदै सहकार्यका नाममा साना, ठूला कुनै पनि पदका व्यक्ति र यातायात व्यवसायी कसैलाई पनि ट्राफिक नियम उल्लङ्घन कारबाही क्षम्य नहुने बताए । एसएसपी ढकालले चालक, सहचालक र यातायात कर्मचारीलाई अनुशिक्षण कार्यक्रमलाई आफूले प्राथमिकतामा राखेको र सिंहदरबारमा कार्यरत चालकबाट यो कार्यक्रमको सुरुवात गरिने जानकारी दिए ।
“उपत्यकाको ट्राफिक व्यवस्थापन नै मेरो प्रमुख लक्ष्य हो । यसमा तपाईं, हामी सबैको साथ र सहयोग चाहिन्छ । दसैं, तिहारमा उपत्यकाबाट सबैभन्दा बढी यात्रु विभिन्न जिल्ला बाहिरिने भएकाले दुर्घटना न्यूनीकरण गर्न पनि हामी सबैले चासो दिनुपर्छ,” एसएपी ढकालले भने । कार्यक्रममा प्रहरी परिसरका काठमाडौं एसएसपी उत्तमराज सुवेदीले यस्ता कार्यक्रममा यातायात व्यवस्था विभाग र सडक विभागका कर्मचारीको पनि उपस्थिति हुनुपर्ने बताए । सुवेदीले सर्वसाधारणमा यातायात कर्मचारी र प्रहरीले राम्रो बोलीबचन गर्न जान्दैनन् भन्ने आरोप बारम्बर खप्दै आएको भन्दै यस्तो मानसिकता चिर्ने जिम्मेवारी यातायात कर्मचारी र प्रहरीमा रहेको बताए । “यात्रुलाई जस्तासुकै गाडीमा भेडाबाख्राजस्तो कोच्ने नगर्नुस् । ठूलो क्षेत्रमा केही खराब कर्मचारी पनि होलान् तिनलाई छानेर कारबाही गर्नुस् । प्रहरीमा पनि त्यस्ता कर्मचारीलाई हामी कारबाही गर्छौं,” सुवेदीले भने, “गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, नियम नमान्ने अनि चेकिङका प्रहरीलाई ब्लुबुकमा पाँच सय हालेर दिएको लिने प्रहरीलाई हामी कारबाही गर्छौं ।” कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सबै व्यवसायीसँग आफ्नो सवारी कन्डिसनमा राख्न र नियमित सरसफाई गर्न आग्रह गरे । “बिचौलियाका कारण हामी गरीखाने व्यवसायी पनि बदनाम हुने गरेका छौं । तोकेको पोशाक लगाएर मर्यादित काम गर्ने कर्मचारी काउन्टरमा बस्नूस्, बिचौलिया घर जानूस्,” सिटौलालले भने, “यात्रुहरुसँग पनि म आग्रह गर्दछु, काउन्टरमै पुगेर पोशाक लगाएका कर्मचारीसँग मात्र टिकट काट्नूस् ।”
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख कृष्णबहादुर कटुवालले टिकट काउन्टरका मान्छे अनुशासित हुनुपर्ने र यातायात सम्वद्ध सबै पक्ष यातायात सेवा सुधारमा जिम्मेवार हुनुपर्ने बताए । यस्तै अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय अध्यक्ष सोम तामाङले यातयात संघ, समितिलाई सरकारले यातायत कम्पनीमा रुपान्तरण गरे पनि कम्पनीका कर्मचारीले सरकारबाट पाउने सेवा, सुविधा नपाएको आक्रोश व्यक्त गरे । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३२ वडाध्यक्ष नवराज पराजुलीले पार्किङ स्थल अभाव, लेन अनुसाशन उल्लङ्घन गर्ने परिपाटीका कारण कोटेश्वर क्षेत्रको ट्राफिक व्यवस्थित हुन नसकेको बताए ।

