भदौ २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले गुँला बाजा संरक्षणका लागि अनुदान रकम वृद्धि गरेको छ । महानगरले गतवर्षबाट गुँला बाजा संरक्षण समूहलाई दिइने रकम वृद्धि गरेको हो ।
महानगर क्षेत्रका विभिन्न सांस्कृतिक बाजा, भाषा र संस्कृति संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले महानगरले सोमबार २३ वटा गुँला बाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । यसअघिसम्म वर्षेनी प्रत्येक समूहलाई ५० हजार रुपैयाँका दरले दिइने गरेको थियो । यो रकम वृद्धि गरेर ७५ हजार पुर्याए पनि अघिल्लो वर्षबाट मेयर शाक्यको पहलमा एक लाख रुपैयाँ प्रदान गर्न सुरु गरिएको हो ।
अघिल्लो वर्ष २१ वटा गुँला बाजा समूहलाई महानगरपालिकाले एक–एक लाखका दरले सहयोग गरेको थियो । यो वर्ष थप भएका दुई वटा समूहसहित महानगरले २३ ओटा समूहलाई रकम हस्तान्तरण गरेको हो । मेयर शाक्यले सहयोग रकम हस्तान्तरण गर्दै महानगर क्षेत्रका मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको पहिचान र संरक्षण गर्नु महानगरपालिको सबैभन्दा बढी दायित्व भएको प्रष्ट पारे ।

