भदौ २३, काठमाडौं । नेपाल बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागिता जनाउने खेलाडीको अन्तिम छनोट भदौ २९ देखि ३१ सम्म गर्ने निर्णय गरेको छ ।
लगनखेलस्थित आर्मीको तालिम केन्द्रमा संचालन हुने छनोट प्रतियोगिका लागि १३ औं दक्षिण एशियाली खेलकुद खेलाडी छनोट कार्यविधिका आधारमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, दोश्रो र तृतिय हुने खेलाडी सहभागिता जनाउन पाउने छन् ।
साथै विशेष कारणवस आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन छुटेका तर विशिष्ट क्षमता भएका प्रतिभावन खेलाडीका हकमा नेपाल बक्सिङ संघको निवेदनका आधारमा छनोट समितिको सिफारिसमा कार्यकारी समितिले समावेश गर्ने निर्णय गरेको खण्डमा छनोटमा सहभागिता पाउने नेपाल बक्सिङ संघले जनाएको छ ।

