असार ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव नेपाल पहिलो पल्ट कार्यवाहक अध्यक्ष तोकिएका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेले अनपेक्षित पराजय भोगेपछि पार्टी महासचिवबाट ०६५ वैशाख १ गते राजीनामा बुझाएयता उनी पहिलोपल्ट कार्यबाहक अध्यक्ष तोकिएका हुन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजकीय भ्रमणमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारार्थ विदेशमा रहेकाले कार्यवाहक अध्यक्ष नेपाल तोकिएका हुन् । ०६५ फागुनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट विधानतः वरिष्ठ नेता बनेका नेपालले त्यो कार्यकालभरि कार्यवाहक अध्यक्षको भूमिका निभाएनन् ।
त्यस्तै ०७१ असारमा सम्पन्न महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओली बने । र, ओली देशबाहिर रहँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले वामदेव गौतमले बहन गर्ने गर्थे । तर, एमाले र माओवादी केन्द्र एकीकृत भइसकेपछि भने पहिलोपल्ट माधव नेपाल कार्यवाहक अध्यक्ष तोकिएका हुन् ।