भदौ २२, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन असोज पहिलो साता हुने भएको छ । जिल्ला र प्रदेश निर्वाचन सम्पन्न भएपछि क्यानको नयाँ नेतृत्वका लागि असोज ३ र ४ गते निर्वाचन हुने भएको हो ।
निर्वाचनको मिति आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीले तय गरेको छ । स्वतन्त्र कमिटीका सदस्य एलबी क्षेत्रीका अनुसार प्रादेशिक क्रिकेट संघको निर्वाचन सकिएपछि केन्द्रीय निर्वाचन गर्न लागिएको हो । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित १३ जना सदस्य गरी १७ सदस्यीय कार्यसमिति चयन गरिनेछ । निर्वाचनमा ३९ जिल्लाका प्रतिनिधि र प्रदेशका २० गरी ५९ जनाले मतदान गर्नेछन् । आईसीसीले निर्वाचनपछि क्यानमाथिको निलम्बन फुकुवा गर्ने तयारी गरेको बताइएको छ ।

