भदौ २२, काठमाडौं । सार्वजनिक सवारी साधनको टिकट काउन्टरका कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्र लगाउने व्यवस्थाको सुरुवात भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा यस्तो व्यवस्था शनिबार कलंकीबाट लागू गरिएको हो । चाडबाड नजिँकिदै गरेको समयलाई मध्यनजर गरेर टिकट काउन्टरबाट यात्रुहरु नठगिन र कर्मचारीको परिचय खुल्नका लागि यो व्यवस्थाले सहयोग पुर्याउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । यातायात व्यवसायी, चालक सहचालक, मजदुर तथा टिकट काउन्टर व्यवस्थापकहरुलाई यात्रुमैत्री व्यवहारबारे जानकारी गराउँदै टिकट काउन्टरका कर्मचारीहरुले अनिवार्य रुपमा पोशाक र परिचयपत्र लगाउने व्यवस्थाको सुरुवात भएको हो ।
नयाँ बसपार्कबाट कलंकी हुँदै छुट्ने ओम शान्ति, एनवि मनकामना माई, चौतारी, शुभयात्रा, पुरानो नारायणी, छहारी, त्रिनेत्र चितवन माईक्रो, पृथ्वि राजमार्ग यातायात प्रालिलगायत कलंकी क्षेत्रमा रहेका दर्जनौं यातायात कम्पनीका टिकट काउन्टरका कर्मचारीहरुलाई अनिवार्य पोशाक र परिचय पत्रको व्यवस्था शनिबारबाट लागु गरिएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत यातायात मजदुर संघ कलंकी बल्खु समितिले शनिबार आयोजना गरेको ‘सवारी दुर्घटना न्यूनीकरण, यात्रु मैत्री व्यवहार र सडक सभ्यता सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम’मा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सार्वजनिक यातायातको सहजताका लागि यस्तो व्यवस्था प्रभावकारी हुने धारणा राखे ।
कार्यक्रम आयोजक समिति कलंकी बल्खु इकाई प्रमुख नरबहादुर राना मगरले शनिबारबाट यात्रुलाई हैरानी नदिने, तोकिएको भाडासहित अनिवार्य टिकट काट्ने र त्यसको अभिलेख राख्ने तथा यात्रुसँग सम्मानजनक व्यवहार गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा महाशाखा प्रमुख ढकालले सरोकारवाला निकायहरुसँगको सहकार्यमा अन्य कम्पनीका टिकट काउन्टरका कर्मचारीहरुलाई समेत अनिवार्य पोशाक र परिचयपत्र प्रयोग लागू गराइने जानकारी दिए । यात्रुसँगको सकारात्मक कार्यले सार्वजनिक यातायात प्रलि यात्रुको विश्वसनियता बढ्ने र यात्रुलाई हैरानी नहुने समेत बताए । “वैशाख १३ गते निर्णय भई लागु हुन नसकेको टिकट काउन्टरका कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्रका सम्बन्धमा सबै सरोकारवाला निकायसँग छलफल गरी एकरुपता कायम गरिन्छ,” प्रमुख ढकालले भने ।

