भदौ २२, काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पार्टीबाट निलम्बन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई पार्टीको नीति र अनुशासन विपरित काम गरेको र सहकर्मीहरुलाई झुठा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको भन्दै पार्टी सदस्यबाट निलम्बन गरिएको नेकपाले जनाएको छ । नेकपा ३ नम्बर प्रदेश कमिटीले खड्कामाथि ठाडो कारबाही गरी कार्यान्वयनका लागि जिल्ला कमिटीमा निर्देशन पठाएको हो । खड्का नेकपाका रामेछाप जिल्ला कमिटी सदस्य पनि हुन् । उनी गत स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
खड्कालाई निलम्बनको कारबाही गरिएको नेकपाका प्रदेश कमिटी सचिव आनन्द पोखरेलले पुष्टि गरे । पार्टीको संरचनाभित्र नबस्ने, छलफलमा भाग नलिने र बाहिरबाट अनुशासनहीन गतिविधि नरोकिएपछि रामेछापमा पार्टी जोगाउन यस्तो कदम चाल्नुपरेको उनले बताए । खड्काले गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य दीपशिखा दाहाल, नेकपाका अर्का नेता धुव्र कार्की र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोरालाई झूठा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको आरोप लागेको छ । त्यस्तै दुरागाउँको विद्युतीकरणमा अनियमितता भएको र अनियमितता छानविन नगरी थप बजेट निकासा नगरौं भन्दा उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि नै आक्रमणमा उत्रिएको आरोप पनि उनीमाथि लागेको छ ।
अध्यक्षबाट असुरक्षित भएको भन्दै प्रशासकीय अधिकृत भुपेन्द्र राई गाउँपालिका फर्किएका छैनन् । एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीचको विवादका कारण गाउँपालिकाको कामसमेत एक महिनादेखि ठप्प छ ।

