असार ५, काठमाडौं । काठमाडौंका स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन् ।
धार्मिक एवम् पुरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माणमा बेवास्ता गरेपछि घाँसे मैदानको रुपमा परिणत भएकाले त्यहीँको घाँस स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई उपहार दिएका हुन् ।
काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार बिहान रानीपोखरीको सफाइ गरिएको थियो । सोही क्रममा रानीपोखरीको पुनर्निर्माणमा गति दिन दबाबस्वरुप महानगरपालिकालाई घाँस उपहार पनि दिइएको स्थानीय सम्पदाप्रेमी आलोकसिद्धी तुलाधरले जानकारी दिए ।
रानीपोखरीको सफाइ सकिएलगत्तै उनीहरुले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई घाँस उपहार दिएका थिए । त्यसै अवसरमा बोल्दै उपमेयर खड्गीले रानीपोखरी पुनर्निर्माणमा ढिलाइ नहुने प्रतिवद्धता व्यक्त गरिन् । उनले रानीपोखरी पुरानै शैलीमा बन्ने आश्वासन पनि दिइन् ।