भदौ २०, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर– ६, चिसापानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा महोतरी जिल्ला, माईस्थान गाउँपालिका वडा नम्बर– ६ बस्ने ७० वर्षीय बिरसिंंह वाइबा, सर्लाहीको वरहथवा नगरपालिका वडा नम्बर–३ बस्ने ६० वर्षीय महेन्द्र सहनी र सर्लाहीका एक दश महिने शिशु समरागी माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पतालमा ज्यान गएको थियो ।
हेटौँडा –काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नम्बरको जीप भीमफेदीमा दुर्घटना भएको थियो । जीप बाटोबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घाइतेहरुको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

