भदौ २०, काठमाडौं । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भदौ २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर मूल्य पसल संचालनमा ल्याउन लागिएको जानकारी गराएको छ । शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विभागका महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सो सुपथ पसल संचालन गर्ने निर्णय गरिएको पनि बताए । सुपथ पसल संचालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ ।
विभागले यस वर्ष खसीबोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था पनि गरेको छ । त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत् गर्न लागिएको पनि विभागका महानिर्देशक गौचनले जानकारी दिए । विभागले चाडपर्वका बेला कालाबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ । महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको पनि समितिलाई जानकारी दिए । बैठकमा समितिका सदस्यहरुले बजार अनुगमनको काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

