आर्थिक प्रगतिबाट मात्रै राजनीतिक परिवर्तन जोगाउन सकिन्छ – अध्यक्ष दाहाल

भदौ २०, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान) को ४१ औं साधारण सभा उद्घाटन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा आर्थिक रूपान्तरणको यात्रालाई अघि बढाउन सकिने बताएका हुन् । अध्यक्ष दाहालले आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याए । उनले भने– ‘राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्रले मिलेर मुलुकको आर्थिक विकासमा लाग्नु आजको आवश्यकता हो ।’ उनले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको आर्थिक समृद्धिको यात्रालाई सफल बनाउन सकिनेतर्फ सरकारको ध्यानाकर्षण गराए । ‘तसर्थ सरकारले सोही अनुसारको नीति र कानुन निर्माण गरेर अघि बढ्नुपर्छ ।’ दाहालको सुझाउ थियो ।

अध्यक्ष दाहालले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्मरण गराए । साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । टानको नेतृत्वका लागि सत्तारुढ नेकपाको समर्थनमा अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट रहेका सुवेदी समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । दुवै समूहले आ–आफ्नो समूह विजयी हुने दावी गरेका छन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरूसहित १७ पदका लागि निर्वाचन हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.