राजनीतिक निकासका लागि खुल्ला छलफलमा आउन विप्लवलाई आह्वान

भदौ २०, दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा संगठन विभाग उपप्रमुख जनार्दन शर्मा प्रभाकरले भूमिगत राजनीतिक गतिविधि गर्दै आएका नेत्र विक्रम चन्द विप्लवलाई राजनीतिक निकासका लागि खुल्ला छलफलमा सहभागी हुन आह्वान गरेका छन् ।

आज बिहान दाङको तुलसीपुरमा प्रेस सङ्गठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले त्यस्तो आग्रह गरेका हुन् । शर्माले संगठन गर्न, समाजवाद, समाजवादको कार्यक्रमलाई लागु गर्न, समाजवादी क्रान्तिलाई अगाडि बढाउन, भ्रष्टाचारका विरुद्ध लड्न, उत्पीडित जनताको पक्षमा बोल्न सबै कुरा छुट रहेको र बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे । विप्लवलाई आफूले खोजिरहेको बताउँदै शर्माले खुल्ला छलफलबाट सबै कुरा समाधान हुने बताए । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट आएको संविधानलाई अब सबै मिलेर कार्यान्वयन गर्नुपर्छ भन्ने शर्माको जोड थियो । अधिकारको कुरा संविधानमै लेखिसकिएको हुँदा त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । विप्लवलाई आफ्नो पूर्वसहकर्मी एवं मिल्ने साथी बताउँदै शर्माले मिलेर समाधानतिर जान सकिने भएकाले हिंसाको राजनीति त्याग्न आग्रह गरे ।

फरक प्रसंगमा बोल्दै शर्माले दुई अध्यक्षले सल्लाह गरेर कार्य विभाजनको जिम्मेवारी सम्हाल्दै आएको हुँदा आगामी दिनमा पनि दुई अध्यक्षले आवश्यकताका आधारमा सल्लाह सम्झदारी गरी पार्टी तथा सरकार अघि बढाउने बताए । ‘पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ’, उनले भने, ‘पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रित भएर अगाडि बढ्छ । शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी ल्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.