प्रारम्भ खबर ।
भदौ २०, काठमाडौँ । काठमाडौँको जोरपाटी क्षेत्रमा बिरामी परेको बेला ट्याक्सी बोलाउदा समेत आउन नमान्ने स्थानीयहरुको भनाई छ । राती केही आपतकालिन समयमा एम्बुलेन्स, ट्याक्सी लगायत पठाऊका सवारी साधन बोलाए पनि आउन नमान्ने गरेको स्थानीय युवा पासाङ तामाङ बताउँछन् ।
जोरपाटी क्षेत्रका बाटोको खराब अवस्थाका कारण कुनै सवारी साधन रातको समयमा आउन नमानेको स्थानीयहरुको गुनासो छ । पटक–पटक सडक मर्मत तथा विस्तार गर्ने भनेर सडक विभागले सूचना जारी गरिएपनि सर्वोच्च अदालतमा रहेको विचाराधिन मुद्धकै कारण सडक विस्तार हुन सकेको छैन् । सडक छेउछाउका उपभोक्तहरुले आफ्नो जग्गाको मुआब्जाका बारेमा प्रस्ताव राख्दा सरकारले वास्ता नगरेका कारण सडक विस्तार कार्य अगाडी बढ्न सकेको छैन् । तर स्थानीय सरकार गोकर्णेश्वर नगरपालिका र उक्त क्षेत्रका सांसदहरु भने आफ्नो कर्तव्य समेत निर्वाह गर्नबाट भाग्न खोजिएको स्थानीयहरुको आरोप छ ।

सडकमा ठूला–ठूला खाल्डका कारण सवारी साधन दुर्घटना हुने गरेको र परिवारका कोही सदस्य विरामी हुदाँ समेत हस्पिटलसम्म पु¥याउन कठिनाई भएको स्थानीयहरु बताउँछन् । पूर्वी राजधानीको सहर र सदरमुकमकै रुपमा हेरिने जोरपाटी बजारलाई वेवास्ता गर्दै राज्यले अपहेलना गरेको गुनासो गर्दै स्थानीय युवा पासाङले अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप विश्व सम्पदा सूचीमा परेको बौद्ध स्तूप क्षेत्र र बस्तीमा मूल बाटो बनाउन नहुने बताएका छन् । उनले सरकारको स्पष्ट नीति र धारणा नहुदाँ जनताले सास्ती खेप्दै आईरहेको बताउँदै आम नागरिकको भीडभाड र दैनिकी सञ्चालन गर्नुपर्ने बस्ती बजारलाई कुरुप नपार्न सम्बन्धित निकायले चासो दिनुपर्ने बताए ।
पिपलबोटदेखि जोरपाटी चोकसम्म करिव ७ ओटा ठूला बैंक तथा ३० भन्दा बढि वित्तिय संस्था सहकारीहरु रहेका छन् । साथै दुई सामुदायिक अस्पताल समेत रहेको उक्त क्षेत्रमा सडकको अवस्थाका कारण सार्वसाधारणले दैनिक रुपमा लिनुपर्ने सेवाबाट बञ्चित हुन पुगेको छ । दशैभन्दा अगाडी सडकको अवस्था सुधार गर्ने विभागको आश्वासन भएपनि दशै नजिकै आएपनि कुनै सुरसार नभएकोप्रति स्थानीय आक्रोसित छन् ।

