सोल, असार ४ । उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् ।
यसै वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गर्ने दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएका छन् । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्नेबारेमा भने केही भनेनन् । तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिकरुपमा अन्त्य भएको घोषणा गरिने जानकारी उनले दिए । यस विषयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उन सहमत भइसकेको जानकारी यसअघि नै दिइएको थियो ।
उनीहरुबीच गत अप्रिल २७ मा पानुमजोममा भएको ऐतिहासिक बैठकमा सो विषयमा सहमति भएको बताइएको थियो । गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भएको थियो । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको सो भेटवार्तापछि जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताको वातावरण बनेको थियो । दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको एक होटलमा सम्पन्न उक्त वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भएको थियो । यसले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्गप्रशस्त गरेको थियो । आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिंगापुरमा वार्ता सम्भव भएको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उनले सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताकाक्रममा कोरियाली प्रायद्वीपलाई पूर्णनिःशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको सम्झौतापछि भने कोरियाली प्रायद्वीपमा पूर्णरुपमा निःशस्त्रीकरण गर्ने आशा बढेको बताइएको छ । कतिपयले भने दुई कोरियाको अप्रिल २७ मा सम्पन्न शान्तिवार्ता तथा अमेरिका र उत्तर कोरियाबीच जुन १२ मा भएको वार्ता र चारबुँदे सहमतिपत्रमा हस्ताक्षरपछि कोरियाली प्रायद्वीपमा औपचारिकरुपमै युद्ध अन्त्य भइसकेको बताउँछन् । रासस/सिन्ह्वा