भदौ १७, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ ।
हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्चमीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर ३६५ वटा दतिवनले दाँत माझेर व्रत समापन गर्ने गर्दछन ।
आजको दिन हिन्दु महिलाहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन । महिलाहरुले वर्षभरि रजस्वलाका समयमा छाइछुईलगायतका त्रुटि पखाल्न अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
आजको दिन पवित्र जलासयमा नुहांदा महिलाहरुले चोखो माटो, तील र गोबर लगाई शरिर चोख्याउने गर्दछन । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रहृमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन भन्ने विश्वास गरिन्छ ।
यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रमा उल्लेख गरेको राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

