भदौ १६, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपचुनावका दल दर्ता गर्न सूचना जारी गरेको छ । उपनिर्वाचनका लागि यही भदौ मसान्तभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जानकारी दिएको छ ।
दल दर्ताका लागि राजनीतिक दलले पार्टीको नाम, आयोगमा दर्ता भएको मिति, दलको पछिल्लो महाधिवेशन भएको मिति र स्थान, केन्द्रीय कार्यालय रहेको ठेगाना खुलाएर निवेदन दिनुपर्नेछ । दलको केन्द्रीय पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय महाधिवेशनको मिति, भाग लिन चाहेको उपनिर्वाचन (प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह), यसअघि निर्वाचनमा प्राप्त गरेको चुनाव चिह्नको सट्टा अर्को चिह्न लिन चाहे कुनै तीनवटा चुनाव चिह्न र राजनीतिक दलको संगठनात्मक स्वरूप खुलाएर निवेदन दिन आयोगले अनुरोध गरेको छ ।
दल दर्ता गर्न जाँदा दलको विधान, घोषणापत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति, दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि आदि समावेश गर्न पनि निर्वाचन आयोगले अनुरोध गरेको छ । मंसिर १४ गते प्रतिनिधिसभातर्फ कास्की– २ सहित ९ सय भन्दा बढी रिक्त स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुँदैछ ।

