भदौ १२, जुम्ला । कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् ।
उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन् । स्याउ टिप्न शुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरीद गर्ने क्रम बढेको छ । स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत स्थानका व्यापारी जुम्ला आएका छन् ।
भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन । ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैँचा खाली हुन थालेका हुन ।

