सुशासन र विकासको यात्रामा अगाडि बढ्न प्रधानमन्त्री ओलीको आग्रह

असार १, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुँदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

 

“स्थानीय निकाय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भई नयाँ राजनीतिक यात्रामा देश अगाडि बढिरहेको छ, अब सबै मिलेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न म आग्रह गर्छु ।” उहाँले भन्नुभयो । नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ घर जग्गा मेला (प्रोपर्टी एक्स्पो) आज भृकुटीमण्डपमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि सरकारले सबैसित मिलेर काम गर्न चाहेको बताउनुभयो ।

उहाँले असुरक्षित बस्ती तथा आवास हटाई शिक्षा, स्वास्थ्य, खानेपानी सबैको सुविधा भएको गाउँ तथा शहर निर्माणमा सरकारले ध्यान दिएको चर्चा गर्दै पुष्पलाल राजमार्ग तथा हुलाकी राजमार्गलगायतका राजमार्गमा विभिन्न स्थानमा शहरको विकास गर्न लागेकाले यसमा सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “कछुवाको गतिमा रहेको जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी छ, खेतीयोग्य उर्वर जमिनलाई मासेर घर बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्छ ।”

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक सुन्दरतालाई जोगाउँदै बढ्दो आवास निर्माणमा पुनःसंरचना गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । पाँचदिने सो प्रदर्शनीमा जग्गा तथा आवाससित सम्बन्धित घर तथा अपार्टमेन्ट, जग्गा योजना, विकास निर्माण सामग्रीका साथै भूकम्प प्रतिरोधी घर, विद्युतीय सामग्री, फर्निचर, पाइप, सजावटका सामान राखिनुका साथै बैंकिङ सेवा पनि उपलब्ध छन् ।

संघका अध्यक्ष इच्छाराज तामाङले जग्गा तथा आवासलाई व्यवस्थित बनाउन संघले काम गरिरहेको छ भन्नुभयो । महासचिव मीनमान श्रेष्ठ र सचिव विपिन चित्रकारले व्यवस्थित एवं आधुनिक बस्ती योजनालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । जग्गा तथा आवास क्षेत्रमा रु दुई अर्बभन्दा बढीको लगानी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.