सडक विस्तारका लागि एक महिनासम्म दैनिक ८ घण्टा सडक बन्द

भदौ ११, बागलुङ । बागलुङ सदरमुकामदेखि काठेखोला गाउँपालिका–१ अक्षेतेसम्मको सडक विस्तारका लागि एक महिना दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बानपा–३ खहरे क्षेत्रमा रहेको पहरो कटान गर्नका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो ।

यहि भदौ १८ गतेदेखि असोज १७ गतेसम्म बिहान ७ः३० देखि ९ः३० सम्म र पुनः १०ः३० देखि दिउसो ४ः३० सम्म बाटो बन्द गरि कामलाई अगाडि बढाउने बताइएको छ । बागलुङ बजारदेखि घोडाबाधेसम्म २५ किलोमिटर सडक अहिले विस्तारकै चरणमा छ ।

बागलुङ बजारद्खि घोडाबाधेसम्म दुई वटा निर्माण कम्पनीले जिम्मा लिएर काम गरिरहेको भएपनि केही महिना काम रोकिएको थियो । खहरे खण्डसम्म सिद्धिशाही प्रकाश जेभी र बिहुँ खण्डको सडक निर्माण गर्ने जिम्मा लिएको एम।पी।सूर्य कन्स्ट्रक्सन जेभीले सडक निर्माणको कामलाई तीब्रता दिने बताएका छन ।

२५ मिटर फराकिलो हुने यस सडकमा कालोपत्रे भने ८ मिटरको मात्रै गरिने निर्माण कम्पनीले जानकारी दिएका छन । सडक खण्डमा जाली लगाउने, नाली बनाउने, ग्राभेल गर्ने लगायतका काम सम्पन्न भएको भएपनि बीच–बीचमा पहरो कटान गर्नुपर्ने र स्थानीयबासीको अवरोधले गर्दा ग्राभेल गरेको सडक समेत बिग्रिसकेको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, अर्जुनवाण गण विहुँका सेनानी प्रवेश बस्नेत, मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापा मगर लगायतको उपस्थितीमा बैठक बसेको थियो ।

सडकमा सवारी साधनहरु सञ्चालन भैरहदा काम गर्न कठिनाई हुने भएकाले तीब्र गतिमा काम सक्नका निम्ति पनि सवारी आवागमनलाई बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । छलफलमा मध्यपहाडी लोकमार्ग बन्द रहने समयमा खहरे देखि पाला हुदैँ अक्षेतेसम्मको सडकलाई बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने निर्णय गरिएको छ ।

यस्तै पहरो कटान गर्ने क्षेत्र नजिकै बागलुङ बजारमा वितरण गरिने खानेपानीको पाइप रहेकाले बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिसँग समन्वय गरी कार्य गर्न मध्यपहाडी लोकमार्ग आयोजनालाई निर्देशन दिएको छ । यसैबीच चाडपर्वको समयमा आएर बाटो बन्द गरिदा सर्वसाधारणहरु भने मर्कामा पर्ने बताएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.