रमेश शुभेच्छु साहित्यसेवी शिक्षासेवी व्यक्तित्व हुन् । उनी शिक्षा, साहित्यलगायत विविध विषयका प्रखर एवम् अभिप्रेरक वक्ता पनि हुन् । उनी प्राय महत्वपूर्ण सभा समारोहमा उत्प्रेरक भाषण गरिरहेका हुन्छन् । उनका भाषणहरु वौद्धिक मञ्च र मास (आम) मञ्चमा पनि उपयोयी र प्रभावकारी मानिन्छन् । वौद्धिक मञ्चदेखि विद्यालयका बालबालिकालाई अभिप्रेरित गर्ने उनका भाषणमा तत्कालीन परिवेश र उदाहरणहरु प्रशस्तै हुन्छन् । हामीले यस साताको प्रेरक प्रसङ्गमा उनै शुभेच्छुको काठमाडौँबाहिर सिन्धुपाल्चोक जिल्लाको चौतारा बहुमुखी क्याम्पसमा विशेष अतिथिका हैसियतले प्रस्तुत मन्तव्यको उतार गरी प्रस्तुत गरेका छौँ । यस मन्तव्यको उतार आलेखमा शिक्षाको इतिहास, सिन्धुपाल्चोकको शिक्षा, चौतारा क्याम्पसको विकासको अवस्था एवम् सम्भावना र प्रभावका साथै समाज विकासमा शिक्षाको महत्व उजागर गरिएको छ । यस मन्तव्यले शिक्षा र चेतनाविनाको काम कसरी दुर्घटित बन्छ र शिक्षा चेतनासहितको काम, योजना र व्यवहार कसरी सफल बन्छ भन्ने अभिप्रेरणा प्रदान गरेको छ । प्रस्तुत छ चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोक चौतारामा गत भाद्र ८ गते आयोजित क्याम्पसको १९ औँ वार्षिकोत्सव समारोहमा शुभेच्छुले अतिथिका रूपमा दिएको मन्तव्यकोे अभिलेखनको पूर्ण पाठ । सम्पा.
चौतारा बहुमुखी क्याम्पसको वार्षिकोत्सव समारोहका सभाध्यक्ष एवम् यस क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज श्रेष्ठज्यू
यस उत्सवका प्रमुख आमन्त्रित व्यक्तित्वप्रदेश तीनका सामाजिक विकासमन्त्री माननीय युवराज दुलालज्यू,
यस क्याम्पसका संस्थापक सदस्यहरू,
यस जिल्लाका शिक्षाप्रेमी राजनीतिक दलका प्रतिनिधिहरू,
यस क्षेत्रका शिक्षासेवी, समाजसेवी, सुधारक अग्रज व्यक्तित्वहरू
यस क्याम्पसका आदरणीय गुरुबा गुरुआमाहरू,
आदरणीय अभिभावकज्यू
स्ववियु सभापतिलगायत प्रतिनिधिहरू,
पूर्वविद्यार्थी संघका सभापति लगायत प्रतिनिधिहरू,
यस जिल्लामा सक्रिय फरक फरक वित्तीय एवम् सामाजिक संघसंस्थाका प्रतिनिधिहरु,
कयाम्पसमा अध्ययनरत उत्साहित विद्यार्थीहरू
सम्पूर्ण सहभागी चौतारावासी बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरू
यहाँहरु सबैमा हार्दिक न्यानो अभिवादन ।
आज हामी क्याम्पसको १९ औँ वार्षिकोत्सव समारोहमा छौँ । यस समारोहको मञ्चमा बस्न पाउनु, यहाँहरुका विचार र भावना सुन्न पाउनु, यस जिल्लाको शैक्षिक यात्रामा सहभागी हुन पाउनु र यस समारोहलाई सम्बोधन गर्न पाउनुलाई मैले विशेष अवसरका रूपमा लिएको छु । यस अवसरका लागि आयोजकहरूप्रति आभार व्यक्त गर्दै आफ्ना विचार अगाडि बढाउँछु ।
चौतारा बहुमुखी क्याम्पसलाई जन्माइ हुर्काइ लक्का जवान बनाउनुहुने संस्थापक र आजसम्म अनवरत खटिरहनुभएका अग्रजहरुप्रति हार्दिक अभिवादन व्यक्त गर्दछु । यसका संस्थापकहरुमध्ये ईश्वरी कक्षपति र पहलमान श्रेष्ठबाहेक सबै आजसम्म लागिरहनुभएको रहेछ । म यसबेला कक्षपति र श्रेष्ठप्रति श्रद्धासुमन अर्पण गर्दछु । कृष्णराज श्रेष्ठ, नगेन्द्र दंगाल, हिमालयप्रसाद दंगाल, सोमबहादुर सापकोटा र दिलकुमारी श्रेष्ठलाई अभिनन्दन गर्दछु । जसका चेतनाले, योजनाले, उत्साहले, समर्पणले र कर्मले आज हामी यहाँ यसरी क्याम्पसको १९ औँ वार्षिकोत्सव मनाइरहेका छौँ ।
जुनसुकै समाज, क्षेत्र र राष्ट्रको विकास यस्तै सुधारकहरूका ससाना तर महत्त्वपूर्ण चेतनाका सूत्रबाट भएको हुन्छ । यस्तै सुधारकहरूका योजना र उत्साहबाट भएको हुन्छ । यहाँ पनि त्यही भएको छ ।

शैक्षिक चेतना समाजको सबैभन्दा मूल्यवान चेतना हो । यस्ता शैक्षिक संस्थाको प्रभाव, यस्ता संस्थाले सञ्चार गर्ने चेतनको प्रभाव तत्काल नभई आधा शताब्दी, शताब्दीपछि मात्र देखिन्छ । यस्ता संस्थाको स्थापना दीर्घकालीन सामाजिक र राष्ट्रिय प्रभावका लागि गरिएको हुन्छ । यो गर्मी भएका बेला शीत्तलका लागि रुख रोप्नु जस्तै हो । रोप्ने मान्छेले शीत्तल पाउन पनि सक्छ नपाउन पनि सक्छ । तर भावि पुस्ताले अवश्यै शीत्तल पाउँछ । अवश्यै जस पाउँछ । यस्तो वृक्षबाट पानीका मुहान पनि जन्मन्छन् । त्यसको अक्सिजनले मानवलगायत जीवको स्वास्थ्यलाई पनि प्रभाव पार्छ । त्यसमा अनेक पंक्षी र किटपतङ्गले बास पनि पाउँछन् । यदि त्यो रुख बुढो भयो भने त्यसका काठले पनि नयाँ निर्माणमा सघाउँछ । त्यतिबेलासम्ममा त्यका अनेक वीजाङ्कुराण भइसकेका हुन्छन् । पोथ्रा, लाथ्रा र अरू त्यत्रै रुख हुर्किइरकेका हुन्छन् । ठिक त्यस्तै भएको यस चौतारा बहुमुखी क्याम्पसको बटवृक्षको प्रभाव । यसका वरिपरि ११ वटा क्याम्पस स्थापना भइसकेका छन् । यसको तेजिलो प्रकाश र प्रभाव पर परसम्म देखिन थालेको छ । यहाँ पढेका विद्यार्थीहरू देशका जिम्मेवार ठाउँमा पुगिसकेका छन् । कोही विद्यालयका प्रिन्सिपल छन्, कोही राज्यका अधिकृत छन्, कोही सुरक्षा निकायमा छन्, कोही राजनीति क्षेत्रमा छन्, कोही कानुनी क्षेत्रमा छन् । पाँचसय अधिक जनशक्तिले यहाँको जगमा राष्ट्रसेवा गरिरहेका छन् । विकास भनेको के ? विकास बाटोघाटो मात्र होइन, विकास पुपुलेसा निर्मण, अग्ला भवन निर्माण, खेलमैदान, रंगशाला, धरहरा, फिल्महल, ठुलठुजला होटल आदिको निर्माण मात्र होइन । मानव इतिहासमा शिक्षाविनाको विकास, सभ्यताविनाको विकास, चेतनाविनाको विकास सधैँ घातक देखिएको छ । शिक्षाको साथविनाको विकास सधैँ प्रत्युद्पादक देखिएको छ । म केही उदाहरणहरूदिऊँः
-
- इन्जिनियरिङ् चेतना र सामथ्र्यविनाको घरले घरमालिक, परिवार र त्यसघरका डेरावाललाई पनि किचेर मार्छ । यस विषयका भुक्तभोगी यहाँहरूनै हुनुहुन्छ । भुइँचालो भएको धेरै भएको छैन ।
- चेतनाविनाका पुल, नहर, बाँध र बाटाले पनि घरले जस्तै दुर्घटना निम्त्याउँछन् ।
- चिकित्सा चेतनाविनाको औषधी दुव्र्यसनीले प्रयोग गर्छन् । चेतनाविनाको औषधी प्रयोग साइड इफेक्ट वा अर्को रोगको कारण बनिदिन्छ ।
- होटल मेनेजमेन्टको चेतनाविनाका होटल जतिसुकै सजावट गरे पनि र अग्ला बनाए पनि बासीभात तहलगाउने, कुहिएका तर्कारी तहलगाउने, कुहिएको मासु तह लगाउने डम्पिङसाइड बन्छन् ।
- चेतनाविनाको गाडीको बाटो गाउँमा आएसँगै सोझासाझा चेलीबेटी बेच्ने तस्कर गाउँमा आइपुग्छन्, सोझा गाउँले नागरिकका लागि विदेसी डेटअफ रक्सी, चुरोट, लागुऔषध र डेटअफ खाद्यान्न ल्याइदिन्छन् । सोझा नागरिकका अंग तस्करहरूगाउँसमम आइपुग्छन् । गरिखाइरहेका मानिसलाई विदेसी दास बनाउने दलालहरू आइपुग्छन् । अनावश्यक खर्चको बाटो बढ्छ । हाम्रा बालबालिकाले अनावश्यक कुरा सिक्छन् ।
यी सबै अवस्था चेतना र शिक्षाविनाको विकासले निम्त्याउने अवस्था हो । हामीले हरेक विकाससँग यसका पछाडिको दीर्घकालीन प्रभावलाई हेर्नुपर्छ । हामीले भौतिक विकास पछि गरे पनि हुन्छ । भौतिक विकासमा अरूले पनि सघाउँछन् । भौतिक विकासका लागि आवश्यक अनुदान अरूबाट पनि लिन पाइन्छ । चेतनाको विकासमा भने समुदाय आफै जागृत हुनुपर्छ । समुदायले नै पसिना बगाउनु पर्छ । भावनात्मक र भौतिक सहयोग गर्नुपर्छ ।
यसको उदाहरण खोज्न टाढा गइरहनै पर्दैन । म बोलिरहेको मञ्चको दायाँपटि दातृनिकायको नाम छ । त्यस निकायले यो भवन बनाउन अनुदान दियो । यो स्थापना भएर आशालाग्दो, पन्ध्र वर्षे जवान भएपछि पो अनुदान दियो त । सुरुमा कलेज खोल्छौँ भनेर मागेको भए दिन्थ्यो ? पक्कै पनि दिँदैन थियो । यस्ता दातृनिकाय जहाँसुकै छन् । लुम्बिनी क्षेत्रमा छन् । पशुपति क्षेत्रमा छन् । त्रिभुवन विश्वविद्यालयभित्र छन् । नेपाल प्रज्ञाप्रतिष्ठानभित्र छन् तर ती संस्था र क्षेत्रको आधारभूत विकास हामीले गरेपछि उनीहरू प्रवेश गरेका छन् र गर्छन् । यस्ता उदाहरणहरू अरू पनि धेरै छन् । यतिबेला म सामाजिक विकास मन्त्री प्रमुख अतिथि भएको मञ्चमा उभिएर बोल्दैछु । दातृनिकायको सहयोग यस्ता संवेदनशील क्षेत्रमा नलिएर विकास निर्माणमा मात्र लिन सके कतै हाम्रो शाख जोजिने थियो कि ? उदाहरणका रुपमा त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल बस्ने घर किन विदेसीले बनाएको हुनुपर्ने ? नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय किन विदेशीले बनाएको हुनुपर्ने ? हाम्रा सांसद् चढ्ने गाडी किन विदेशीले दिएको हुनुपर्ने ? यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । मलाई लाग्छ, यस्ता संवेदनशील क्षेत्रमा अनुदान लिन पनि हामीले होसियारी अपनाउनुपर्छ । यो राज्यले सोच्नु पर्ने कुरा हो । म यता धेरै नजाऊँ । मात्र यति भनूँ यस्तो चेतनाको विकास अरुको अनुदानले हुँदैन । हामी र हाम्रो चेतनाबाटै हुन आवश्यक छ ।
म शिक्षा चेतनाकै कुरा गर्दै थिएँ । म पूर्वमा जन्मे हुर्केको मान्छे । हाम्रो क्षेत्रमा इलामका सचेत नागरिकहरूले क्याम्पस स्थापना गरे । तेह्रथुममा गरे, झापामा गरे, विराटनगरमा गरे । ती क्षेत्रको जनशक्तिले आज देश निर्माणको ठूलो हिसा ओगटेको छ । पाँचथर र ताप्लेजुङमा क्याम्पस स्थापना केही ठिला भयो त्यहाँको विकासको गति अहिले पनि मन्द छ । यस्ता प्रभाव अनेक देखिन्छन् । यहाँहरुले पनि आफ्नो र अरुको क्षेत्रलाई तुलना गर्नुभयो भने आफै पनि अनुभूत गर्न सक्नुहुन्छ । यहाँ पनि त्यस्तै भएको छ । यो सिन्धुपाल्चोकको पहिलो क्याम्पस, पहिलो स्नातक क्याम्पस, पहिलो स्नातकोत्तर क्याम्पस, पहिलो प्राविधिक क्याम्पस, पहिलो विज्ञान क्याम्पस, यसको पच्चिस पचास वर्षपछिको असर हामी सजिलै अनुमान लगाउन सक्छौँ ।
प्रिय विद्यार्थी भाइबहिनीहरू तपाईँहरू भाग्यमानी हुनुहुन्छ । आफ्ना घरको भात खाएर, घरैबाट नभ्याए पनि आफ्ना बारीको दालचामलले आफ्नै सदरमुकाममा बसेर, परिवारको नजिकै बसेर डिग्री पढ्न पाउनु भएको छ । म यता साना भाइबहिनीतिर फर्किएर भन्दैछु । मलाई आफ्नै कुरा भन्न पनि कुनै लाज हुँदैन । आज तपाईँ विज्ञान पढ्न पाउनुभएको छ । प्राविधिक शिक्षा पढ्न पाउनु भएको छ । मैले एसएलसी पास गरेपछि काठमाडौँ गएर साइन्स पढ्छु भनेँ । निकै ढिपी पनि गरेँ । मेरा मित्र काठमाडौँ आएर पढे । म काठमाडौँ जान्छु भन्दा मेरा बाले म खर्च गर्न शक्तिनँ भन्नुभयो बाले त्यसो भन्नु भएकाले म अरू विषयतिर लागेँ । खुम्चिएर इलाम क्याम्पसमा भर्ना भएँ । तपाईँहरुलाई त्यसो हुने छैन । यहाँका अग्रजहरुले सुधारकहरुले तपाईँको लागि सहज शिक्षा बनाइदिनुभएको छ ।
आजयहाँ विद्यार्थी प्रतिनिधिको भाषण सुनियो । पूर्व विद्यार्थी मञ्चको पनि विचार सुनियो । हामी अधिकारका कुरा पनि गर्छौ । त्यो अधिकार पनि शिक्षा र चेतनाबाट मात्र आउँछ । शिक्षा चेतनाविनाको अधिकार अर्को दुर्घटना हुन्छ । हामीलाई चेतनाविनाका अधिकार धेरै प्राप्त छन् । यहाँ अधिकार बुझ्ने मान्छे धेरै हुनुहुन्छ म त्यता पनि नजाऊँ । नबोल्दा पनि मैले बोल्नै पर्छ । अवको विद्यार्थी आन्दोलन शैक्षिक ऋणकेन्द्रित हुनुपर्छ कि जस्तो लाग्छ मलाई । हाम्रा परिवारमा समाजमा र देशमै ऋणसम्बन्धी धारणा कामजोर छ । कोही विदेश जाने भयो भने ऋण खोजिदिन जो पनि तयार छ । कोही पढ्न जान्छु भन्यो भने ऋण दिन कोही तयार छैन । राज्यले शैक्षिक ऋणको व्यवस्था गर्न ढिला भइसकेको छ । तल्लो तहको प्रमाणपत्र धितो राखेर माथिल्लो तह अध्ययनका लागि ऋणको व्यवस्था गर्न अबेर भइसकेको छ । त्यति मात्र गर्न सके हाम्रो जस्तो वर्गीय समाजमा पनि शिक्षा सबैको भन्न सक्ने दिन आउँछ ।
म केही अलि परका उदाहरण लिऊँ ः
विश्वका पुराना विश्वविद्यालयहरु कुन हुन् ? सबैभन्दा पुराना विश्वविद्यालयहरुमा तक्षशिला विश्वविद्यालय र नालन्दा विश्वविद्यालयको नम आउँछ । यी विश्वविद्यालयको इतिहास २७ सय वर्ष पुरानो छ । यी विश्वविद्यालयमा आयुर्वेदका सर्जन डाक्टरहरुसम्म भएको इतिहास छ । इतिहासले चाणक्य र पाइथागोरसलाई ती विश्वविद्यालयमध्ये तक्षशिलाका सहपाठी भएको बताएको छ । तक्षशिलाको भग्नावशेष अहिलेको भारतको राहुलपिण्डिनी नजिकै पर्दछ । ती विश्वविद्यालयले पूर्वीय सभ्यताका अनेक पक्ष संरक्षण गरेको इतिहास छ । चारवेदहरुको अभिलेखन, अठार पुराणको अभिलेखन, उपनिषद् र व्राह्मण ग्रन्थहरूको, आरन्यक र संहिता ग्रन्थहरूको संरक्षण र विकासमा टेवा पुर्याएको इतिहास छ । त्यस बेला विकास भएको सुश्रुत सर्जरीलाई विश्वले मान्छ । त्यही बेला उपचारमा सर्जरीको विकास भएको इतिहास छ । त्यसको प्रभावले आज पनि हामी केही आयुर्वैदिक औषधीमुलो गरिरहेका छौँ । हाम्रा यज्ञकर्महरुमा संस्कृत भाषा र संस्कृतिलाई संरक्षण गर्न सकिरहेका छौँ । वैदिक दर्शनको लोकायत प्रभावको बलमा सभ्य जीवनशैली बाँचिरहेका छौँ । हाम्रामा वृद्धाश्रमहरू खोलिरहनुपरेको छैन । हामीसँग थोरै भए पनि नैतिक चेतना छ , थोरै भए पनि शास्त्रीय चेतना लोकमै छ ।
ती विश्वविद्यालयलाई मोगलहरूले ध्वस्त पारे । त्यसबेला तक्षशिला विश्वविद्यालयको पुस्तकालयमा लागेको आगो ६ महिनासम्म निभेको थिएन भन्ने किंवदन्ती छ । तक्षशिलाको भग्नावशेष आज तारबार भएर रहेको छ । नालन्दा विश्वविद्यालयको अग्नावशेष आज विहारको राजधानी पटना नजिक छ । त्यसलाई पनि तारबार गरेर विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको छ । आज त्यहाँ जाँदा पठन पाठन पनि छैन र ज्ञानका सामग्री केही पनि छैनन् । १६१७ पछि अंग्रेजहरुले ती भूभागमा शासन गरे । उनीहरुका तागि पनि तिनको महत्त्व रहेन । म भारतको कुरा गरिरहेको छैन । मैले अहिले भनिरहेको ठाउँ ती विश्वविद्यालय जागृत रहेका बेला आजको भारत थिएन । पूर्वीय ज्ञानको केन्द्र मात्र थियो । दक्षिण एसियको केन्द्र थियो । एसियाकै केन्द्र थियो । त्यहाँ हिन्दुहरुका शास्त्रमात्र होइन सबै दर्शनका शास्त्र पढाइन्थ्यो ।

मोगलहरुको आक्रमणसँगै हामी पूर्वीय चेतनाका केन्द्रहरुबाट वन्चित भयौँ । हाम्रा पुर्खाहरुले त्यहाँबाट पोखिएको ज्ञान पनि पाउन छाडे । अंग्रेजहरुले आजको भारतीय भूमिमा अंग्रेजी शिक्षालाई र सभ्यतालाई लाद्न थाले । त्यसको प्रभाव हामीमा पनि पर्यो । हाम्रा चेतनाहरू पूर्वीय चेतनाहरू, हाम्रा ऋषिगुणहरू मुगलका भाषाका प्रभावले पनि विश्वमा पुगेका हुन सक्छन् । अंग्रेजी वाड्मयको इतिहासले चाल्र्स विकेन्सको कलमबाट भगवत गीता अनुवाद भएको बताउँछ । त्यो अनुवाद अङ्ग्रेजी र फ्रेन्चमा भएको बुझिन्छ । सोपेनहावरले गरेको अनुवाद भने आज पनि सुरक्षित छ । त्यसपछि अंग्रेजी दुनियाँमा पूर्वीय दर्शन र ज्ञान विस्तार भयो । त्यसको प्रभाव पाश्चात्य दार्शनिक र लेखकहरुमा नि देखियो र शिक्षामा पनि देखियो । आज अमेरिकाका दुई दर्जन (नियमित २१) र युरोपमा चार दर्जन (नियमित ४२) विश्वविद्यालयमा संस्कृत वाड्मयको पढाइ हुन्छ । हामी यसरी बुझौँ, त्यहाँ पूर्वीय ज्ञानको पढाइ हुन्छ । ती वाड्मयहरू हम्रा हिमाल पहाडका फुफामा बस्ने ऋषिहरुले रचेका थिए । हामीले पनि जरिबुटीको अध्ययन गर्न र विश्वमा विक्ने आयुर्वेदिक डक्टर उत्पादन गर्न सक्छौँ । हाम्रो ज्योतिष विद्यालाई जोडेर विश्वलाई खगोल विज्ञान पढाउन सक्छौँ । अब हामीले यतातिर पनि चासो लिनुपर्ने देखिन्छ । त्यो इतिहास र विरासतका आधारमा हामीले हाम्रा पुर्खाबाट पाएको तर्कशास्त्र, न्यायशास्त्र, नीतिशास्त्र आदि हामी जान्न र विश्वलाई बाँड्न पनि सक्छौँ । हामीले पाएका गुरुकुलका गुरुहरुका आदर्श अरुलाई पनि सिकाउन सक्छौँ ।
मैले उल्लेख गरेका नालन्दा र तक्षशिला विश्वविद्यालयहरुका तुलनामा हार्वर्ड र क्याम्ब्रिज विश्वविद्यालय धेरै कान्छा छन् । उनीहरुको ज्ञानको उमेर धेरै कान्छो छ । यी विवश्वविद्यालयहरूब् ााह्रौँ–तेह्रौ शताब्दीपछिका शैक्षिक केन्द्रका रूपमा विकास भएका हुन् । आज ती विश्वविद्यालयले पनि पूर्वीय दर्शन पढाउँछन् । संस्कृत भाषा र साहित्यलाई पढाउँछन् । उनीहरूले हाम्रा पुर्खाले नदी किनारमा बसेर धुलोमा गरेको गणितसापेक्ष खगोल विज्ञानलाई विश्वास गरेका छन् । हाम्रा पुर्खाले विकास गरेको योग, आयुर्वेद र दर्शनलाई पत्याएका छन् । हाम्रा ऋषि पाणिनीको व्याकरणलाई आदर गरेका छन् । यी परम्परित शिक्षा पनि हाम्रा जरामा छन् । नासाका अन्तरिक्ष वैज्ञानिकहरुले संस्कृत भाषालाई बढी सहज भाषा भएको निष्कर्ष निकाल्न थालेका छन् । यी पनि विश्व चेतनामा मिसिएका पूर्वीय चेतनाहरू हुन् ।

शिक्षा हाम्रै लोकमा पनि छरिएर रहेको छ । धामीझाँक्री र औषधीमुलोसँग जोडिएको आयुर्वैदिक पक्ष पनि हामीसँग छ । रुघा लाग्दा पैयुँको सेउला चलाउनु, पेट दुख्दा वेसार पानी खानु, बाडुली लाग्दा चिनी, मह, खुँदो आदि गुलियो मिसाएको पानी खानुसँग पनि विज्ञान छ । हामीले यी पक्षका वैज्ञानिक कारण पनि खोज्न आवश्यक छ । शिक्षा अरूले दिएको मात्र हुँदैन । हाम्रै समाजमा पनि हुन्छ । हाम्रै संस्कृति र परम्परामा पनि हुन्छ । हामीले ती शिक्षालाई पनि आवश्यकताअनुसार लिन सक्नुपर्छ ।
म अरू कुरामा नरुमलिइ शिक्षालाई नै महत्त्व दिन्छु ः
-
- एउटी छोरी शिक्षत हुनु भनेको शिक्षित ज्वाइँ घरमा आउनु हो । ज्वाइँको परिवार पनि शिक्षित हुनुहो र दुवै परिवारका भावि पुस्ता शिक्षित हुनु हो ।
- एउटा छोरो शिक्षित हुनु भनेको घरमा शिक्षित बुहारी आउनु हो र पुस्ता पुस्तामा शिक्षाको सञ्चार हुनु हो ।
- एउटी आमा शिक्षित हुनु भनेको परिवार शिक्षित हुनु हो ।
- परिवार परिवार शिक्षित हुनु भनेको समाज शिक्षित हुनु हो ।
- समाज समाज शिक्षित हुनु भनेको देश शिक्षित हुनु हो ।
अघि मैले उदाहरण दिएको एउटा शैक्षिक संस्थाको अवसानले समाज कहाँ पुग्दो रहेछ भन्ने उदाहरण हामी विहारको पुरानो विश्वविद्यालयको ध्वस्त अवस्थापछि त्यहाँका नागरिकको चेतनाबाट बुझ्न सक्छौँ हाम्रै छिमेकी मुलुकको पश्चिम वंगालमा आधुनिक र परम्परित शिक्षाले ल्याएको दिगो विकास र त्यहाँका नागरिकको चेतनामा पहिल्याउन सक्छौँ । यस्ता उदाहरण हाम्रै वरिपरि हुन्छन् । यस क्षेत्रबाट पनि डा……..कार्की (कृषि), डा जयन्त श्रेष्ठ (शिक्षा), डा. रामप्रसाद धिताल (उर्जा), डा. प्रेमसिंह वस्नेत सैन्य, इतिहास), डा. विनोद नेपाल (मानविकी, राजनीतिशास्त्र ?) आदि क्षेत्रमा विद्यावारिधि उपाधि प्राप्त सन्ततिले आआफ्नो क्षेत्रबाट राष्ट्रसेवा गर्नुभएको छ । यही माटोमा जन्मिएका केदारमान व्यथितको प्राज्ञिक चेतले नेपाल उज्यालो पारेको छ । यही माटोका लोकदर्शनअनुरूप राष्ट्रिय राजनीतिमा पुगेका अमृत बोहरा, अग्नि सापकोटा, शेरबहादुर तामाङ, भगद्धज प्रधान आदिका चेतनाले देश निर्माणमा टेवा पुगेको छ । यही माटोका युवराज दुलालहरू समग्र प्रदेश र मुलुकको सामाजिक क्षेत्रको विकासमा लागिरहनु भएको छ । यी केही उदाहरणले यस माटोको उर्वर सामथ्र्यलाई देखाउँछन् । आज मेरो मन्तव्य सुनिरहेका विद्यार्थीको भविष्य पनि त्यतातिर हुन सक्छ ।

म माननीय मन्त्रीज्यूलाई सल्लाह दिने हैसियतको मानिस त हैन । म त्यस्तो कुनै विशिष्ट सामथ्र्य भएको मान्छे पनि होइन तर मन्त्रीज्यू, उहाँ यस प्रदेशको पहिलो सामाजिक विकास मन्त्री हुनुहुन्छ । यो मन्त्रालयको क्षेत्र व्यापक भएकाले उहाँले इतिहास रच्न सक्ने अनेक सम्भावना देख्छु । नेपालमा लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री भएका बेला देशले त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञाप्रतिष्ठान पाएको थियो । युवराज दुलाल प्रदेशको सामाजिक विकास मन्त्री भएका बेला प्रदेश तीनले प्रदेश विश्वविद्यालय र प्रदेश प्रज्ञाप्रतिष्ठान पाउन सक्छ । यो क्षेत्रमा सुझबुझका साथ लाग्नुभयो भने वौद्धिक एवम् साधक समाजले यहाँलाई कहिल्यै विर्षने छैन । त्यो अब बन्ने नयाँ विश्वविद्यालयको केन्द्र चाहनुभयो भने मन्त्रीज्यूको क्षेत्र हुन सक्छ । देवकोटा शिक्षामन्त्रीको काल यहाँको अहिलेसममको सामाजिक विकासमन्त्री कालभन्दा छोटो छोटो थियो । देवकोटाको योजनाअनुसार ठाउँठाउँमा विद्यालय खुलेका थिए । आज हामीले पुराना विद्यालयको स्थापना मिति हेर्यौँ भने अधिकांश १४, १५, १६ साल पाउँछौँ । त्यो देवकोटा शिक्षामन्त्री बनेवापत देशले प्राप्त गरेको उज्यालो थियो । देवकोटा वौद्धिक व्यक्तित्व थिए । उनी पहिलो स्नातक गर्ने नेपाली थिए । त्यसपछि वीचमा कति व्यक्ति शिक्षामन्त्री भए होला ? एकैचोटि मोदनाथ प्रश्रित शिक्षामन्त्री भएपछि देशमा बहुविश्वविद्यालयको अवधारणा आयो । ठाउँ ठाउँमा होइन वार्ड वार्डमा विद्यालयको अवधारणा आयो । हामीलाई यी दुई शिक्षामन्त्रीका चेतनाले यतिको बनायो । खोइ अरू शिक्षामन्त्रीको उज्यालो ? म यस क्याम्पसको अतिथि प्राध्यापकका हैसियतले, शिक्षासेवामै लागेको व्यक्तिका हैसियतले र प्रदेश तिनको वासिन्दाका हैसियतले पनि माननीय युवराज दुलालको उज्यालो हामीले पाउनुपर्छ भन्छु । मन्त्रीज्यू मैले बढी बोलेको भए क्षमा पाऊँ ।
मैले अघिल्ला कार्यक्रममा सँगै जम्काभेट भएका बेला यस नगरका नगरपिताज्यूलाई निवेदन गरेको छु । यहाँले स्थानीय पाठ्यक्रम निर्माणमा पहल गर्नुपर्छ । यहाँको त्यस पहलका लागि म पनि एउटा विशेषज्ञ हुन सक्छु । यहाँका बालबालिकाले राज्यको स्थानीय पाठ्यक्रम बनाउने नियमअनुसार यहाँको स्थानीय पक्ष पढ्न पाउनुपर्छ । यहाँका जलासयहरु, यहाँको प्रकृति, यहाँका धार्मिक साँस्कृतिक पक्ष, यहाँका भाषा, जाति,जनजाति, शिक्षाको इतिहास, समाज विकासको इतिहास, यहाँका खास खास प्रतिभा सबै पढ्न पाउनुपर्छ । तपाईँहरू योजना अगाडि बढाउनुहोस् कस्तो पाठ्यक्रम र कस्तो पाठ्यपुस्तक बनाउने भन्ने पक्षमा हामी काँध हाल्न सक्छौँ ।
म धेरै कुरा नगरूँ । म यस क्याम्पसको विकासमा साह्रै थोरै योगदान भएको व्यक्ति । डेढ दसकको बलियो क्याम्पस भएपछि जोडिन आइपुगेको पात्र । क्याम्पसको स्नातकोत्तर तहको सुभारम्भका पृष्ठभूमिबाट मात्र र कक्षाका लागि जोडिएको पात्र । यस मञ्चमा मभन्दा दिग्गज व्यक्तित्व हुनुहुन्छ । उहाँहरूले बोल्न बाँकी नै छ । फेरि पनि आजोजकहरुलाई, यस क्याम्पस परिवारलाई, क्याम्पसप्रमुख, सहायक क्याम्पसप्रमुख लगायत सबैलाई यसरी मन्तव्य प्रस्तुत गर्ने अवसर दिएकामा आभार चढाउँदै विदा लिन्छु धन्यवाद ।

