भदौ ८, रौतहट । नेपाल–भारत सीमानामा भारतले बाँध विस्तार गरेपछि रौतहटका वासिन्दा त्रसित भएका छन ।
इशनाथ नगरपालिकाको औरैयामा भारतले बाँध विस्तार गरेको छ । भारतीय पक्षले मर्मत भनेर बाँध विस्तार गरेपछि स्थानीय वासिन्दा त्रसित भएका हुन । यस बर्ष भारतीय बाँधका कारण रौतहट डुवानमा परेको थियो । बाढी तथा डुबानका कारण बाँध कमजोर भएकाले मर्मत गरेको भारतीय पक्षले जनाए पनि सो बहानामा बाँध विस्तार गरेको इशनाथ नगरपालिका वडा नं २ का अध्यक्ष बिगु व्यासले बताए ।
औरैयामा रहेको जङ्गे पिलर ३४७ देखि बलुवा हुँदै बन्जरहासम्म गैरकानूनी रुपमा भारतीय पक्षले बाँध विस्तार गरेको उनले बताए । सीमा क्षेत्रमा भारतले १९ सय मिटर लम्बाइ भएको बाँधमा सिमेन्टका बोरामा माटो ढुङ्गा भर्दै दुवैतिरको पिँधको चौडाइ बढाउने काम गरेको उनले बताए । बाँधको झण्डै २ किलोमिटरको दुरीमा पानी निकास हुने ढोका नरहेको उनकाे भनाइ छ ।
दुई देशको सिमानामा यसरी एकलाैटी रुपमा बाँध बनाएर भारतीय पक्षले अत्याचार गरेको स्थानीयले बताएका छन । सिमा क्षेत्रको पिलरसँगै जोडिएर उनीहरुले निकै अग्लो बाँध बनाएको वडा अध्यक्ष व्यासले बताए ।
भारतले पूर्व-पश्चिम सीमानाका क्षेत्रमा निर्माण गरेको सो बाँधले बन्जरहा क्षेत्र वर्षौँदेखि डुबानमा पर्दै आएकाे छ । उसले बनाएको बाँध नेपाली भूमिमै पर्ने दावी समेत बन्जरहाका स्थानीयले गरेका छन ।
जिल्ला सुरक्षा समितिले भारतले बनाएको बाँधका कारण नै रौतहट डुवानमा पर्ने गरेको निष्कर्ष निकालेको छ ।
सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना पाएपछि नेपाली पक्षले सो काम रोक्न लगाएको छ । असार २७ र २८ गते आएको बाढीका कारण रौतहट डुबानमा परेको थियो ।

