उपत्यकाका तीन जिल्लामा तार भूमिगत बनाउने काम थालियाे

भदौ ८, काठमाडौँ । सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विद्युत वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ।

यसपछि उपत्यका बाहिर पनि तार भूमिगत गर्ने प्रक्रिया सुरु हुने प्राधिकरणले जनाएको छ। एसियाली विकास बैङ्क (एडीबी)को सहुलियतपूर्ण ऋणमार्फत काठमाडौंँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका वितरण लाइन भूमिगत गर्न ठेकेदार कम्पनीले सर्भे तथा उपकरण परीक्षणको काम गरिरहेको छ।

गत जेठदेखि नै ठेक्का सम्झौता आरम्भ गर्दै भारतीय ठेकेदार कम्पनीले अहिले फिल्ड कार्य पूर्वको तयारी गरिरहेको प्राधिकरणअन्तर्गत आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए। भारतीय कम्पनी एईआई इन्डस्ट्रिजसँग रत्नपार्क र महाराजगञ्ज क्षेत्रको सम्पूर्ण विद्युत वितरणलाइन भूमिगत गराउने गरी गत चैतमा ठेक्का सम्झौता भएको थियो।

सम्झौता जेठदेखि कार्यान्वयनमा ल्याइएको हो। सम्झौताअनुसार यी दुई क्षेत्रमा ११ केभी प्रसारण लाइन करिब चार सय किलोमिटर र चार सय भोल्ट क्षमताको ३५० किलोमिटर तार भूमिगत हुनेछन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.