भदौ ६, हेटौंडा । कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा बिक्री वितरणमा सहज बनाउन मकवानपुरको बकैया गाउँपालिकामा चिस्यान केन्द्र (कोल्ड स्टोर) सहितको कृषिउपज एवं तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । उक्त गाउँपालिकाले मर्सिकोर नेपाल, मकवानपुरस्थित बाल कल्याण समाज तथा स्थानीय जनश्रमदानसमेत गरी कूल रु २८ लाखको लागतमासो केन्द्र स्थापना गरेको हो ।
उक्त गाउँपालिकाको विभिन्न क्षेत्रका कृषिउपज सङ्कलन गरी बिक्री वितरणका लागि स्थापना गरिएकोे सो केन्द्रमा एक कोल्ड स्टोर, एक स्टोर हल र अर्को डिजिटल लाइब्रेरी सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । भवन निर्माणका लागि बाल कल्याण समाजको सर्भे परियोजनाबाट रु १५ लाख, उक्त गाउँपालिकाबाट रु आठ लाख र जनश्रमबाट रु पाँच लाख गरी कूल रु २८ व्यहोरिएको थियो । गाउँमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भएपछि स्थानीय कृषकलाई आफ्ना उत्पादन बजारसम्म पु¥याउन झञ्जट नहुने तथा धेर थोर उत्पादन पनि केन्द्रले नै खरीद गरेर बिक्री वितरण गरिदिने गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले बताइन् । – रासस

