जेठ ३१, काभ्रे । निर्माण कार्यको सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको भवनको तला थप गर्ने काम अलपत्र अवस्थामा रहेको छ ।
निर्माण कम्पनीलाई जिम्मा दिएको वर्ष दिन हुन लाग्दा पनि कामको कुनै सुरसार नै नभएपछि काम हुने कि नहुने भन्ने विषयमा अन्योलता छाएको छ । नगरपालिकाले भवनको तला थप गर्नका लागि एसएमआर इजी जेभी, काभ्रेका प्रोप्राइटर गणेश बाँस्कोटासँग गत २०७४ माघ २ गते सम्झौता भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागार्इंले सम्झौता भएको समयदेखि काममा कुनै पनि चासो नदेखाएको बताए । “काम थालनी नगरेपछि हामीले पटक–पटक सम्पर्क गर्यौँ र चिठीसमेत पठायौँ, उहाँले त्यसमा पनि कुनै चासो नै गर्नुभएन,” चापागाईंले भने, “असारको २४–२५ मा काम सम्पन्न गरी नगरपालिकालाई बुझाउनु पर्नेमा अहिलेसम्ममा दुई–तीन प्रतिशत पनि काम भएको छैन ।” सो निर्माण कम्पनीले नगरपालिकाको भवनको तला थप्नका लागि रु ९२ लाखमा ठेक्का सम्झौता गरेको र त्यससँगै नगरको अरु चारवटा वडा कार्यालय निर्माणका लागि करीब रु साढे चौध लाखका दरले सम्झौता गरेकामा अहिलेसम्ममा कुनै पनि काम अगाडि नबढाएको नगरपालिकाले जनाएको छ । सोही निर्माण कम्पनीले नगरपालिकाको वडा नं ५, ७, २ र १० का कार्यालय निर्माणका लागि जिम्मा लिएर सम्झौता गरी काम नगरेको हो ।
लो विडिङमा सम्झौता गर्ने र बैंक ग्यारेन्टी गर्ने र मोविलाइजेशनमा मात्रै लाग्ने भएका कारण पनि काम गर्न नआएको बुझिएको नगरपालिकाका प्रमुख महेश खरेलले बताए । पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएका कारण अब कानूनअनुसार कारवाहीको प्रक्रियामा जानुको विकल्प नभएको उनले बताए ।