विश्वकप फुटबलको महासंग्राम शुरु हुँदै

जेठ ३१, काठमाडौं । आजबाट विश्वकप फुटबलको महासंग्राम शुरु हुँदै छ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

 

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ।  फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।

 

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् । साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.