जसले लेखिरहयोः उही भविष्यको भानुभक्त, उही देवकोटा – रमेश शुभेच्छु

रमेश शुभेच्छु नेपाली साहित्यमा परिचित स्रष्टा र द्रष्टा हुन् । उनी कुशल साहित्यिक पत्रकारका साथै विविध विषयका प्रखर वक्ता पनि हुन् । उनी प्राय महत्वपूर्ण सभा समारोहमा उत्प्रेरक भाषण गरिरहेका हुन्छन् । उनका भाषणहरु वौद्धिक मञ्चमा पनि उपयोयी र प्रभावकारी मानिन्छन् । वौद्धिक मञ्चदेखि विद्यालयका बालबालिकालाई अभिप्रेरित गर्ने उनका भाषणमा तत्कालीन परिवेश र उदाहरणहरु प्रशस्तै हुन्छन् । हामीले यस साताको प्रेरक प्रसङ्गमा उनै शुभेच्छुको एउटा विद्यालयमा प्रमुख अतिथिका हैसियतले प्रस्तुत मन्तव्यको उतार गरी प्रस्तुत गरेका छौँ । यस मन्तव्यमा भानुभक्त र अन्य लेखकहरुलाई उदाहरण बनाएर कसरी लेख्न सकिन्छ, मान्छे कसरी सफल बन्छ भन्ने अभिप्रेरणा समेटिएको छ । प्रस्तुत छ काठमाडौँ प्रज्ञाकुञ्ज स्कुल काठमाडौँमा गत असार २५ गते आयोजित भानुजयन्ती समारोहमा शुभेच्छुले प्रमुख अतिथिका रूपमा दिएको भाषणको अभिलेखन । सम्पा.

प्रज्ञाकुञ्ज स्कुलमा आयोजित २०६ औँ भानुजयन्ती समारोहका सभाध्यक्ष एवम् यस विद्यालयका कार्यक्रम संयोजक बालिका घिमिरेज्यू,
विद्यालयका कोअर्डिनेटर शिवानी अग्रवाल म्याम,
को अर्डिनेटर उषा भट्ट म्याम,
कोअर्डिनेटर सुभद्रा श्रेष्ठ म्याम
आदरणीय विश्व नेपाली सर
सविता बराल म्याम
किरण महत सर
सभाहलमा उपस्थित विद्यालयका गुरु, गुरुआमाहरु,
सानो कक्षादेखि माध्यामिक तहसम्मका विद्यार्थी भाइबहिनीहरू,
भोलिका भानु आजको कार्यक्रमका प्रतियोगी भाइबहिनीहरू,
समाचार र तस्बिर संकलनमा खटिरहनुभएका पत्रकार बन्धुहरू
यहाँहरूसबैमा हार्दिक हार्दिक न्यानो अभिवादन ।

सर्वप्रथम त आदरणीय आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । आज मलाई काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलको यति सभ्य र भव्य कार्यक्रममा प्रमुखअतिथिका रुपमा उभिन पाउँदा असाध्यै खुसी लागेको छ । म प्रमुख अथितिका रुपमा उभिन सक्ने मान्छे थिएँ कि थिइन त्यो मलाई नै थाहा छैन । प्रमुख अतिथिको गुण र गरिमा निकै विशिष्ट मानिन्छ । त्यो विशिष्ट अवस्था मेरो होला नहोला ? मलाई लागिरहेको छ, आज यहाँहरुले मलाई मेरो योग्यता क्षमताभन्दा ठूलो पगरी गुथाइदिनुभयो । यहाँहरुले मलाई भानुजयन्तीको प्रमुख अतिथिका रुपमा विश्वास गर्नुभयो । यो विश्वासप्रति हार्दिक आभार चढाउँछु । मेरा लागि २०६ औँ भानुजयन्तीको पहिलो कार्यक्रम पनि यही कार्यक्रम बन्यो । यस अर्थमा पनि म गौरवान्वित बनेको छु । २०६ औँ भानुजयन्तीका सन्दर्भमा भानुका नाममा मलाई पनि सम्मान भएको ठानेको छु । आज मैले प्रमुख अथितिका रुपमा सल्काएको यस विद्यालयको सभाकक्षको दियोको उज्यालोले मेरो आफ्नै मन र यो विद्यालय सबै झलमल पारेको ठानेको छु । म सरकारी पद, पदवीविनै, राजनीतिक शक्तिविनै आफ्नो निष्काम कर्मबाट यसरी नै चलिरहन सकूँ । मलाई यहाँहरूले सानो बनेर ठूला काम गर्ने क्षमता दिनुहोस् । म आज भानुभक्तसँग पनि यही आशीर्वाद माग्छु ।

यस विद्यालयको नाम मैले धेरै अगाडिदेखि सुनेको हो । यहाँ पढाउनुहुने केही पुराना शिक्षक साथीहर पनि हुनुहुन्छ । यो विद्यालय लामो समयसम्म प्राथमिक तहको विद्यालयका रुपमा थियो । पहिला म यही बानेश्वर क्षेत्रमा बस्थेँ । यहाँभन्दा अलितल नोगेन्द्र कान्छाचोक, ओम शान्तिचोक, छिरिङचोक र यहाँ नजिकै पञ्चकुमारी मन्दिर छन् । यी ठाउँमा घुमीघुमी म चार ठाउँमा डेरा गरी झन्डै दश वर्ष बसेँ । त्यस बसाइका कारण पनि यो ठाउँ मलाई प्रिय छ । कुनै कुनै ठाउँमा जीवनका महत्वपूर्ण घटनाले पनि आत्मीय साइनो राख्छन् । मेरा लागि यो ठाउँ, कीर्तिपुरबाट उच्च शिक्षाको प्रमाणपत्र बोकेर बसाईँ सरेको ठाउँ हो । अहिले पनि यहाँहरुका नजिकैको बानेश्वर बहुमुखी क्याम्पसमा पढाउँछु । मैले पहिला प्राध्यापन यात्रा आरम्भ गरेको क्याम्पस पनि त्यही हो । नयाँवानेश्वरको कोलम्बस कलेज र एस.भी एकेडेमी कलेज मेले पढाएका अन्य क्याम्पसहरू हुन् । म यहाँहरूभन्दा धेरै टाढा छैन । अरूबेला पनि आउन सकिने ठाउँमा छु । खोज्यो कि सहजै भेटिने ठाउँमा छु ।  आज मैले साना साना भाइबहिनीले प्रस्तुत गरेको भानुभक्त नाटक हेरेर मनोरञ्जन लिएँ । घाँसी र भानुभक्तको भूमिका निर्वाह गर्नुहुने भाइहरुको भूमिका खुब रमाइलो लाग्यो । …भानुभक्तको रचना अमरावती कान्तिपुरी नगरीको अवला चपलामा अभिनय गर्ने बहिनीहरुको अभिनय झन् रमाइलो लाग्यो । म यस अभिनयमा सहभागी बहिनीहरूलाई सम्झिइरहनेछु । …यहाँहरूको अभिनय वेजोड लाग्यो । यहाँहरूले हलमा हाम्रो प्रवेश हुँदैगर्दा दिएको पुष्पगुच्छाको मूल्य अझ विशेष लागेको छ । त्यस पुष्पगुच्छामा माया, श्रद्धा र आदर रहेको पाएको छु । यहाँहरूले मङ्गल कामना गर्दै विश्व नेपाली सरसँगै गाएको गीतले हाम्रो मन पनि मङ्गलमय भएको छ । मेरो मन पनि मङ्गलमय भएको छ ।

कविता वाचन प्रतियोगितामा सहभागी विद्यार्थीको वाचन कलाबाट म प्रभावित छु । हामीले यहाँ भनुभक्त, देवकोटा, लेखनाथ भीमनिधि, भूवनहरि सिग्देल हुँदै आजका पुस्तासम्मका कविका कविताको उत्कृष्ट वाचन सुन्न पायौँ । त्यस वाचनमा तपाईँहरुको कलासँगै यहाँ अध्यापन गर्ने गुरुवर्गको कला पनि निरीक्षण गर्न पायौँ । लेखन प्रतियोगिताका प्रतियोगी कविका कविताले मलाई त्यत्तिकै प्रभावित पारेको छ । त्यहाँ पनि गुरु गुरुआमाको सिकाउने कला राम्रैसँग भल्कियो । आज लेखन र वाचन प्रतियोगिताका सहभागी फरक फरक तहका विद्यार्थीलाई म सधैँ सम्झिइराख्छु । यहाँहरुका रचना मेरो मेलमा पठाउनुभयो भने म मैले सम्पादन गर्ने भानु पत्रिकामा छापिदिन्छु । आज पुरस्कृतहरुका लागि पनि त्यो पत्रिकाका केही प्रति ल्याइदिएको छु । मैले अघि पनि भनिसकेँ, यहाँहरूनै भविष्यका भानु हुनुहुन्छ । यहाँहरूनै भविष्यका देवकोटा हुनुहुन्छ । यहाँहरुलाई पुरस्कार, पदक र प्रमाण पत्र वितरण गर्न पाएर मेरा हात धन्य भएका छन् । मेरो मन गदगद भएको छ । यहाँहरूनै भविष्यका हामी जस्तै यस विद्यालयमा कार्यक्रम हुँदा उपस्थित हुने अतिथि हुनुहुन्छ । यहाँहरुलाई शुभकामना छ । अनन्त शुभकामना छ ।

आज यस कार्यक्रमको उद्घोषण गरिरहेका उद्घोषक भाइ प्राज्ञिक वस्नेत र श्रृतु पहाडी बहिनीको आवाज र उद्घोषण शैली पनि मलाई विशेष लागिरहेको छ । म पनि यस्ता मञ्च, रेडियो र टेलिभिजनमा उद्घोषण अनुभव भएको व्यक्ति हुँ । तपाईँहरुको उद्घोषण राम्रो छ । यहाँहरूलाई शुभकामना छ । केही लेखनमा प्रेरित गर्ने गरी बोलिदिन मलाई उद्घोषक भाइबहिनीहरुले भन्नुभएको छ । मलाई यसरी विषय पनि दिएकामा धन्यवाद ।  लेख्ने विषय हाम्रै वरिपरि हुन्छन् । लेख्ने विषय खोज्न टाढाटाढा पुगिरहनुपर्दैन । हामी भानुभक्तकै कुरा गरुँ न । अघि हेरेको नाटकअनुसार भानुभक्तले आफ्नै गाउँको घाँसीलाई पहिलो कविताको विषय बनाए । पहिलो अभिप्रेरणाको विषय बनाए । शिक्षा चेतना कमजोर भएको पात्र घाँसीका कर्मबाट शिक्षित भानुभक्त प्रभावित भएर उत्कृष्ट कविता रचना गरे ः

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मों भानुभक्त धनीभै कनआज यस्तो ।
उनै भानुभक्तले आफ्नै गाउँकी महिलाको व्यवहारलाई विषय बनाएर कविता लेखे ः
गजाधर सोतीका घरबुढि अलक्षिन्कि रहिछन्
नरक् जानालाई सबसित विदावादि भइछन्
जयौँ साँझ्मा तिन्का घर पिंडिमाँहाँ बास गरियो,
निकालीन् साँजैमा अलिकपर गुज्रान गरियो ।

भानुभक्तले जेलमा बस्ता टोक्ने लामखुट्टे र उपियाँका विषयमा कविता लेखे । आफ्नै छोराको ब्रतबन्ध र घरायसी समस्याबारेका विता लेखे । बिर्केटोपीका बारे कविता लेखे, काम गर्न जाँदा कर्मचारीले दिएका दुःखलाई समेटेर विन्ती डिठ्ठा विचारीसित कति गरुँ भन्दै कविता लेखे । आफूलाई स्वाद पर्ने मकै, मोही, मुला र मुङ्ग्रे केराका विषयमा कविता लेखे । मुङ्ग्रे केरा भनेको के ? मुङ्ग्रो जत्रै ठूलो केरा मिठो केरा भनेको । हामीले अघि सुनेको कविता लेखनाथ पौडेलले आफ्नै घरमा बसेको गौँथलीलाई विषय बनाएर लेखेको त हो नि । देवकोटाले आफ्नो पहिलो कविता आफ्नै भाउजूका दुःख वेदनालाई विषय बनाएर लेखेका त हुन् नि । माधव घिमिरेले आफ्नै पत्नीको मृत्युको शोकलाई विषय बनाएर गौरी काव्य लेखेको त हो नि । तपाईँहरूपनि अफ्ठारो परेका विषयलाई कविता बनाउन सक्नुहुन्छ । आफ्ना जीवनका खुसी र सजिला राम्रा विषयलाई पनि कविता बनाउन सक्नुहुन्छ । शिक्षकसँगका सम्बन्धलाई पनि, अभिभावकसँगका सम्बन्धलाई पनि साथीसँगका सम्बन्धलाई पनि विषयवस्तु बनाउन सकिन्छ र सक्नुहुन्छ । होमवर्क गर्न सक्नुभएन भने पनि कविताको विषय बन्न सक्छ । राम्रो होमवर्क गरेर शिक्षकबाट स्यावासी पाउनु भएको विषय पनि कविता बन्न सक्छ । आज कविता प्रतियोगितामा पुरस्कृत हुनुभएको विषय पनि कविता बन्न सक्छ । आज कविता प्रतियोगितामा पुरस्कृत हुनुभएन भने पनि कविताको विषय बन्न सक्छ । आफ्ना अभिभावकलाई पनि विषय बनाउन सकिन्छ । आफ्नो घर र स्कुललाई पनि विषय बनाउन सकिन्छ । देवकोटाले आफूले पढ्ने दरबार हाइस्कुल र त्यसका नजिकैको रानीपोखरीलाई विषय बनाएर कविता लेखेर साथीलाई सुनाएका थिए । जतासुकै लेख्ने विषय हुन्छन् । हामीले भोगेका दुःखसुख सबै लेखनका विषय बन्छन् ।

विश्वप्रसिद्ध मानिसहरू आफ्नै कथा लेखेर लेखेर चर्चित भएका छन् । त्यस्तो लेखलाई आत्मकथा भनिन्छ । हाम्रै देशको कुरा गर्दा विजयराजले, झमक घिमिरेले, जगदीश घिमिरेले आफ्नै आत्मकथा लेखेर मदन पुरस्कार जिते । तारानाथ शर्माले बेलायततिर बरालिँदा भन्ने पुस्तकका लागि मदन पुरस्कार पाए । त्यो उनकै यात्राको अनुभवको कृति हो । उनी बेलायत बस्ताका दुखसुखका अनुभवको कृति हो । यस्ता उदाहरणहरूधेरै छन् । रमेश विकलको मेरो अविरल जीवन गीत उनकै जीवनकथा हो तर उनका कृतिहरुमध्ये चर्चित कृति पनि हो ।  तपाईँहरूदैनिकी लेख्नुहोस् । विद्यालयले घुमाउन लगेका ठाउँबारे जानेको कुरा लेख्नुहोस् । परिवारले घुमाउन लगेका ठाउँको स्मृति लेख्नुहोस् । आफ्नै हजुरबा, हजुरआमा, काका, मामा, फुपू आदिका विषयमा पनि लेख्न सकिन्छ । उनीहरूछुच्छा लाग्छन् भने छुच्चै कुरा लेख्नुहोस् । मायालु छन् भने मायालु पक्ष नै लेख्नुहोस् । आज तपाईँहरुले सुनाएका कविता पनि यस्तै विभिन्न विषयवस्तुबाट त आएका हुन् नि । तपाईँ पनि निरन्तर लेख्नुहोस् । लेख्ने काम हामी जस्ता नेपालीमै उच्च शिक्षा लिएका मान्छेको मात्र होइन । सबैले लेख्नुपर्छ । जसले लेखिरहयो उही भविष्यको भानुभक्त हो । उही भविष्यको देवकोटा हो ।  मैले धेरै ठाउँमा लेखेको छु । धेरै ठाउँमा बोलेको पनि छु । आफ्नो पेसासँगै लेखनलाई पनि निरन्तरता दिन सकियो भने जीवन सफल बन्छ । मलाई लाग्छ म नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह भएको भए निरन्तर आत्मकथा लेखेर बस्थेँ । आफ्ना अनुभवहरूपुस्तकमा उतार्थेँ । पूर्वराजा र एउटा चर्चित लेखक भएर बाँच्थेँ । म नेपालको पहिलो राष्ट्रपति रामवरण यादव भएको भए जीवनका अनुभवलाई लेखेर बस्ने थिएँ । नेपालको महत्व र महिमाबारे लेख्ने थिएँ । त्यसरी लेखेका कुरा खण्ड खण्डमा ठेलीका ठेली प्रकाशन गर्ने थिएँ । सिक्किमको अन्तिम राजा लेन्डुम दोर्जे भएको भए आत्मकथाका पुस्तकहरूलेखेर किन देश भारतमा विलय भयो भन्ने चिनाउँथेँ । नेपालमा थुप्रै पूर्व प्रधानमन्त्रीहरूह्ुनुहुन्छ । मैले उहाँहरुको जस्तो पूर्व प्रधानमन्त्रीको जीवन पाए नेपाल नै लेखेर बस्ने थिएँ । आफ्ना अनुभव भावि पुस्तालाई देखिदिएर बस्ने थिएँ । आफ्नो जीवनलाई विनाकुण्ठा सफल बनाउँथेँ । उहाँहरुलाई यो आइडिया कसले दिने । मलाई सल्लाहकार बनाउनुहुन्न । कि कसो ?

मैले भन्न खोजेको कुरा हामीले जुन पेसा लिए पनि आफ्ना अनुभव मात्र लेख्न सकियो भने पनि जीवन सफल हुन्छ । गीत गाउनुअघि लेखिएको हुन्छ, चलचित्र बन्नुअघि लेखिएको हुन्छ, नेताले गर्ने भाषण पनि प्रस्तुत गर्नुअघि लेखेर तयार पारिएको हुन्छ । मन्त्री प्रधानमन्त्रीका भाषण पनि प्रस्तुत गर्नुअघि लेखिएको हुन्छ । मैले अन्यत्र पनि भन्ने गरेको छु ः लेखन कलामध्ये मूल कला र बौद्धिक कला पनि हो । तपाईँहरुले पक्कै पनि सुन्नुभएको छ विस्टन लिओनार्ड स्पेन्सर चर्चिलको नाम । उनी द्वितीय विश्वयुद्धताका बेलायतका प्रधानमन्त्री थिए । उनले त्यही विश्वयुद्धलाई विषयवस्तु बनाएर छ खण्डमा युद्धको संस्मरण लेखेका छन् । त्यस कृतिलाई दोस्रो विश्वयुद्धको आधिकारिक इतिहास पनि मानिन्छ । त्यस कृतिलाई साहित्य पनि मानिन्छ । त्यही एउटा कृतिलाई राजनीतिको महत्वपूर्ण ग्रन्थ पनि मानिन्छ । उनले त्यसै कृतिका लागि सन् १९५३ मा नोवेल पुरस्कार पाए । त्यो किताबको नाम थियो मेमोरिज अफ द सेकेन्ड वल्र्ड वार । उनी नेता मात्र भएका भए कहाँ वेस्टन चर्चिल भनेर चिनिन्थे र ? लेखक + नेता भएर चिनिएका ।  यो उदाहरण तपाईँका लागि अभिप्रेरक बन्न सक्छ । तपाईँ डक्टर, इन्जिनियर, वकिल, उद्यमी, व्यापारी सिए, नेता मन्त्री जे बन्नुहोस् तर आफ्ना अनुभव र ज्ञानका कुरा लेख्नुहोस् तपाईँ सफल हुनुहुने छ । म एउटा साधारण सफल मान्छे हुँ । म प्राध्यापक हुँ तर पाठ्यपुस्तक लेखक प्राध्यापक हुँ । म शिक्षक हुँ तर पाठ्यपुस्तक लेखक शिक्षक हुँ । लेखक पलस प्राध्यापक हुँ । लेखक नभएर क्यामपस पढाउने जागिरे मात्र भए तपाईँहरुले यसरी बोलाउनुहुन्न थियो । लेखक नभएर जागिरे मास्टर मात्र भएको भए मेरा कुरा यसरी ध्यानपूर्वक सुन्नुहुन्न थियो । तपाईँहरुले पत्याउनुका पछाडि मैले लेख्ने काम पनि गरेको कारण छ ।

म धेरै कुरा गर्दिन । मैले आजको निर्णय पनि गरेको छु । आजका प्रतियोगी शिशिरा शाह , अस्तित्व घिमिरे, अरत्रिका ढुङ्गाना, सुरभि वर्तौलाका रचनालाई मैले ध्यानपूर्वक सुनेको छु । रोनक महर्जन, अद्वैत थापा,आरोही पराजुली, आभा खड्का जस्ता नवप्रतिभाका वाचनलाई पनि ध्यानपूर्वक सुनेको छु । माथिल्लो कक्षाका उन्नति देवकोटा, आदिती डङ्गोल, इनोस गुरुङ, अदिती चौधरी सबैलाई ध्यानपूर्वक सुनेको छु । यहााहरूमा अनन्त सम्भावना छ निरन्तर लागिरहन सके भविष्यमा राम्रो लेख्न सक्नुहुन्छ । निरन्तरता सफलताको मूल कडी हो । दौडमा सफल हुने मान्छे दौडिएरै सफल हुन्छन्, खेलमा सफल हुने मान्छे खेलेरै सफल हुन्छन् । पढाइमा सफल हुने मान्छे पढेरै सफल हुन्छन् । लेखमा सफल हुने मान्छे लेखेरै सफल हुने हो ।
यहाँहरुले अन्तक्रियाका क्रममा मेरो लेखनकाबारे थाहा पाइसक्नुभएको छ । आफ्नै जीवनका घटना लेखनका विषय बन्छन् । मैले पनि मेरा हजुरबाका विषयमा शोककाव्य लेखेको छु । आजकी अतिथि भगवती म्यामले पनि आमाकाबारे शोककाव्य लेख्नुभएको छ । तपाईँ लागेका कुरा लेखेर प्रस्तुत गर्नुहोस् । भविष्यमा तपाईँ सफल मान्छे बन्नुहुन्छ ।

आज मैले एउटा सत्य बोल्नैपर्छ । यहाँहरूकी गुरुआमा, सविता बराल म्याम मेरो कलेज जीवनकी सहपाठी साथी हुनुहुन्छ । उहाँ र मैले त्यसबेलाको प्रवीणता प्रमाणपत्र तहमा सँगै पढेका हौँ । मैले उहाँकी दिदी तारा बरालसँग पनि सँगै पढेको हुँ । मैले क्याम्पस जीवनमा मानविकीपटि अङ्ग्रेजी र शिक्षा सङ्कायपटि नेपाली पढेको थिएँ । उहाँ र मेरो मेजर विषय मिल्दैन थियो तर हामी एउटै कक्षाका विद्यार्थी थियौँ । म त्यसबेलादेखि नै शिक्षण गर्थेँ । क्याम्पसमा नियमित कक्षा लिन पाउँदिन थिएँ तर उहाँ र मैले सँगै पढेको सम्झना मलाई छ । यहाँहरुकी कोअर्डिनेटर उषा भट्ट म्याम र म एउटा संस्थामा समान पोर्टफोलियोमा कार्यरत छौँ । हामी पनि साथी साथी हौँ । आज मैले यस विद्यालयकी प्रधानाध्यापक सुनिता पौडेलज्यू लाई भेट्न पाइँनँ । उहाँ विदेश जानुभएको हरेछ । म उहाँलाई पनि राम्ररी चिन्छु । उहाँ र म सँगसँगै थुप्रै कार्यक्रममा सहभागी भएका छौँ । उहाँ पनि बौद्धिक व्यक्तित्व हुनुहुन्छ । साहित्यप्रेमी व्यक्ति हुनुहुन्छ । यस कुराले आज मलाई प्रमुख अतिथिका रुपमा बोलाउने मान्छेको सफा मनलाई बुझ्न सकिन्छ । आफ्नै साथीको क्षमतालाई स्वीकार गर्नु आफ्नो क्षमता प्रदर्शन गर्नु पनि हो । म मलाई आदर गरेर बोलाउनुहुने म्याम, सरहरुलाई हार्दिक आदर गर्दछु । सम्मान गर्दछु । अभिवादन गर्दछु । एउटा भनाई छ एउटा शत्रु पनि धेरै हो सयौँ मित्र पनि थोरै हुन् । मलाई आज सहपाठी र सहकर्मी मित्रहरुले सम्झनु भएको छ र यो सम्मान दिनुभएको छ । यो सममान मैले साथी भएर मात्र होइन लेखक भएर पाएको हुँ भन्ने लागेको छ ।  मैले अर्को रहस्य पनि यहाँ खोल्नुपर्छ । आजकी विशेष अतिथि भगवती अर्याल म्याम र म एउटै क्याम्पसमा पढाउँछौँ । उहाँ जस्तो सिर्जनशील सहकर्मीसँग काम गर्न पाउँदा म गौरवान्वित छु । उहाँलाई विशेष अथितिका रुपमा यहाँहरुले बोलाउनुको कारण पनि कलेज पढाउने मान्छे भनेर मात्र होइन, चिनजानको मान्छे भनेर पनि होइन । पक्कै पनि लेख्ने मान्छे भनेर हो ।

आज मैले यहाँ निर्णय पनि प्रस्तुत गर्नु छ । भगवती म्याम र मैले सफासँग मूल्याङ्कन गरेका छौँ । हामी यहाँहरूलाई चिन्दैन थियौँ । यसलाई बढी यसलाई कम भन्ने हाम्रा मनमा थोप्पो पनि थिएन । हामीले दिएका अङ्कमा जसको बढी अङ्क आयो उसैलाई पुरस्कृत गरेका छौँ । यो निर्णयले तपाईँको साहित्य यात्राको भने निर्णय गर्दैन । गर्यो भने हामी अर्कबढाइँ गरौँला । मैले यस्ता भाषणहरुमा दोहोर्याएर आफ्नै जीवनको एउटा घटना भन्ने पनि गरेको छु ः कुनैबेला म विद्यालयको छात्र छँदा एक जना निर्णायक बस्ने शिक्षककी छोरी प्रथम भएकी थिइन् म द्वितीय भएको थिएँ । त्यहाँ मलाई मेरो योग्यताभन्दा पनि चिनाजानीका आधारमा मूल्याङ्कन गरिएको थियो । आज म तपाईँहरुका कविताको निर्णय गर्ने मान्छे भएको छु । तपाईँको विद्यालयमा प्रमुख अतिथि भएर उभिएको छु । मलाई त्यतिखेर जित्ने मान्छेको नाम नेपाली साहित्य जगत्लाई थाहा छैन । उनी गृहिणीका रुपमा जीवन बिताइरहेकी छन् । म पनि उनको नाम भन्दिनँ । मलाई क्याम्पस जीवनमा एकजना निर्णायकले चिनजानका भरमा वक्तृत्वकलामा द्वितीय बनाएका थिए । स्वभाविक पनि थियो कानुन पढ्ने मभन्दा माथिल्लो तहका दाइ प्रतिष्पर्धी थिए र निर्णायक कानुनकै सर थिए । उनले मलाई दोस्रो पारे तर पछि अर्को प्रतियोगितामा हामीदुवैलाई नचिन्ने निर्णायकले मलाई प्रथम पारेका थिए र ती मलाई पहिले दोस्रो पार्ने दाइ सान्त्वना स्थानमा पुरस्कृत भएका थिए । यस्तो खेल भइरहन्छ । आफूचाहिँ निरन्तर आफ्नो क्षेत्रमा लागिरहनुपर्छ । गरिरहनुपर्छ । लेखिरहनुपर्छ । अगाडि बढिरहनुपर्छ । अनि कसरी सफल भइँदैन ?

तपाईँहरुले अघि अन्तरक्रियामा राखेका जिज्ञासाले पनि मलाई उत्साही बनाएको छ । यस्तै जिज्ञासाले मानिसलाई सफल बनाउँछ । यस विद्यालयको स्वागतशैली, अतिथिलाई सम्मान गर्ने शैली, विद्यार्थीहरूको कार्यक्रममा सहभागी हुने शैली सबैबाट म प्रभावित छु । मैले विद्यार्थीका प्रतिभा प्रस्तुतिसँगै यस विद्यालयका शिक्षक साथीहरूको क्षमताको पनि आँकलन गरेको छु । जस्तो गुरु उस्तै चेलो भन्ने उखानै छ ।
म अरू धेरै नबोलूँ । यहाँहरुमा पुन शुभकामना । भानुभक्तमा हार्दिक श्रद्धाञ्जली । म जस्तो सामान्य मानिसलाई विशेष मान्छेका रुपमा आमन्त्रण गर्ने तर्पाइ विशेष मान्छेहरुप्रति हार्दिक आभार । यहाँहरुको सम्मानका लागि पनि आभार । धन्यवाद ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.