साउन ३१, मेक्सिको सिटी । मेक्सिकोमा पछिल्लो दशक अवैध रुपमा २० लाखभन्दा बढी हतियार भित्रिएको सरकारी आँकडाले देखाएको छ ।
यसमध्ये आधा पनि बरामद हुन सकेको छैन । समाचार एजेन्सी सिन्ह्वाका अनुसार मङ्गलबार मेक्सिकोका राष्ट्रपति एन्द्रेस म्यान्युअल लोपेज ओब्रादोरको उपस्थितिमा रक्षामन्त्री लुइस क्रेसेनियो स्यान्डोवल पत्रकार सम्मेलन हतियारको आँकडा घोषणा गरेका हुन् । मन्त्री स्यान्डोवलले भने, ‘‘२००९ देखि २०१९ सम्ममा सरकारले बेचेको ४,५०,६२५ थान हतियार थियो । १ डिसेम्बर २०१८देखि, जब लोपेज ओब्रादोरको कार्यकाल आरम्भ भयो, तबदेखि ७,९२७ थान हतियार हासिल भएको छ । यसबाट पनि अन्धाधुन्ध हतियार बिक्री गरिएको छैन भन्ने पुष्टि हुन्छ ।’’
अवैध हतियारमध्ये करिब ७० प्रतिशत हिस्सा अमेरिकाबाट आउने गरेको छ भने बाँकीचाहिँ युरोपियन मुलुक– स्पेन, इटली र अस्ट्रियाबाट आउने गरेको छ । मेक्सिकोमा हतियार राख्ने मामिलामा रक्षामन्त्रालयले नियमन गर्ने गर्छ भने यसका निम्ति लाइसेन्स अनिवार्य हुनुपर्छ । –एजेन्सी

