सबै प्रदेशमा ‘एक विद्यालय, एक नर्स ’कार्यक्रम सञ्चालनमा ल्याइने

साउन ३०, काठमाडौं । सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम चालु आर्थिक वर्षबाट सातै प्रदेशमा विस्तार गर्ने भएको छ । हालसम्म सरकारले प्रदेश एक र प्रदेश ३ मा यो कार्यक्रम सञ्चालनमा ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अर्न्तगतको नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाले जनाएको छ ।

उक्त कार्यक्रम प्रदेश नम्बर २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यक्रम सञ्चालनका लागि मापदण्ड बनाइसकेको छ । ती पाँचवटा प्रदेशमा एक करोड १५ लाख रुपैयाँ रकम विनियोजन गरेर पठाइएको महाशाखाका प्रमुख रोशनी टुईटुईले बताइन् । “हालसम्म ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा नआएका पाँच प्रदेशमा उक्त कार्यक्रम कम्तिमा २० वटा स्कुलमा यसै आर्थिक वर्षबाट सञ्चालन गर्ने मापदण्ड बनाएर पठाइसकेको छ । तर कार्यक्रम सञ्चालनमा आएका प्रदेश १ र प्रदेश ३ मा बजेट विनियोजन गरिएको छैन । ती प्रदेशले नै बजेट विनियोजन गरेर उक्त कार्यक्रम सञ्चालन गर्ने जनाएका छन्, ”उनले भनिन्, “यस कार्यक्रमका लागि संघअन्तगर्त करिब तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।”

महाशाखले अनुदानबाट सञ्चालन हुने कार्यक्रमका लागि विद्यालय छनोट, बजेट खर्चको विषयमा मापदण्ड बनाउने काम भइरहेको जनाएको छ । प्रेदेश १ र ३ मा कार्यक्रम निकै प्रभावकारी भएकोले अब अन्य प्रदेशमा पनि यो कार्यक्रम विस्तार गर्न लागिएको उनले बताइन् । “प्रदेश १ का १४ जिल्लामा उक्त सञ्चालनमा ल्याईएको छ,” उनले भनिन्, “कार्यक्रम अर्न्तगत विद्यालयमा बालबालिकाको शिक्षाका साथ साथै स्वास्थ्यका लागि पोसिलो आहार, अतिरिक्त क्रियाकलापका साथै उनीहरुको स्वास्थ्य अवस्थाको पनि अभिलेख राख्ने काम गरिने छ ।” विद्यालयमा बालबालिकाको उपस्थिति राम्रो बनाउन र उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अघि सारेको महाशाखाले बताएको छ । अघिल्लो आर्थिक वर्षमा प्रदेश ३ ले २० वटा स्कुलमा ‘एक विद्यालय एक नर्स’ सुरू गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.