बालबालिकाकाे काम देखेर अभिभावकहरू दङ्ग

साउन २४, तनहुँ । हरेक हप्ताको शनिबार उत्रा-उत्रै (७ वर्षदेखि १३ वर्षसम्मका ) बालबालिकाहरू कसैले हातमा कोदालो लिएर, कसैले हातमा हँसिया तथा ठेला लिएर गोलो भेला हुन्छन । भेला भएर सबै गाेलाे घेरा बनेर भुइँमा बस्छन ।

बसेपछि एकजनाले झोलाबाट माइन्युट र कलम निकाल्छन अनि फटाफट उपस्थिति उतार्दै बैठकको एजेन्डा तयार पार्छन । आज के गर्ने ? उनीहरू छलफल गर्छन ।

हेर्दा तीन कक्षादेखि सात कक्षासम्म पढ्ने स-साना विद्यार्थीहरूको उपस्थिति र छलफल भए पनि विषय बस्तुहरू भने कलेज पढ्ने विद्यार्थीका भन्दा कम हुँदैनन । उनीहरूले समाजमा रहे।भएका गहन विषय उठाउछन । विषय छनाेट भएपछि पालैपालो आफ्नो भनाइ राख्छन्, उनीहरू सबै अनुशासित तरिकाले प्रस्तुत हुन्छन ।

तनहुँ स्थित म्याग्दे गाउँपालिका वडा नं १ गुणादीका बालबालिकाहरूले हरेक शनिबार यसै गर्दै आएका छन । शनिबार मात्रै हाेइन बिदा दिन पनि उनीहरूले यसै गर्छन ।

समाज विकास निर्माणका दृष्टिले पछाडि परेपछि गुणादी बालबालिकाहरू आफै अग्रसर हुन थालेका हुन । गाउँमा युवाहरू छैनन्, स्कुल जाने र आउने बाटो भत्किएकाे छ । बाटाे हिलो र झाडीले भरिएकाे छ,विद्यालय जाँदा-आउँदा उनीहरूले जहिले पनि सास्ती खेप्नु परेको छ ।

त्यसैले उनीहरूले एउटा समिति नै गठन गरेका छन । जसमा अध्यक्षको रूपमा ११ वर्षका शाश्वत खनाल , उपाध्यक्षमा १० वर्षीय अनिल थापा, सचिवमा १२ वर्षीय रोशन खनाल, कोषाध्यक्षमा १० वर्षीय अच्युत खनाल सहितका छन ।

त्यस्तै हरेक हप्ता प्रतिव्यक्ति २५ रूपयाँका दरले उनीहरूले पैसा जम्मा गर्छन । पैसा कति जम्मा भयो ? ब्याज कति आउँछ ? सबै हिसाब गर्दछन र पारदर्शी तरिकाले राख्छन ।

आँफुहरूकै उमेर अवस्थाका कोही बालबालिका पैसाको अभावमा स्कुल जान नसक्ने देखेमा त्यही उठाएको पैसा सहयोग गर्ने लक्ष्य तथा उद्देश्यका साथ मासिक रकम जम्मा गरेकाे उनीहरू बताउँछन ।

फोहोर जम्मा गर्नका लागि कुहिने प्रकृतिका र नकुहिने प्रकृतिका दुई वटा छुट्टाछुट्टै खाल्डो खनेका छन । बालबालिकाको यस किसिमको काम र अभियान देखेर अभिभावकहरू दङ्ग छन्, साथै गाउँलेहरू पनि अचम्मित परेका छन ।

यति सानै उमेरमा पनि यस्ताे किसिमको सामाजिक चेतना जगाउने खालको काममा सक्रिय भएर लाग्नु, समाजमा रहेका ठूलाबडा मानिसहरूलाई नैतिकताको पाठ सिकाउने क्षमता राख्नु पक्कै पनि सानोतिनो काम र अभियान नभएको स्थानीय राजु खनाल बताउँछन ।

‘मेरो बुवा पनि सामाजिक काम भनेपछि हुरुक्कै हुनुहुन्थ्यो र घरको काम छोडेर जानुहुन्थ्यो, तर ३।४ वर्ष अगाडि स्वर्गवास हुनुभयो ।’ स्थानीय खनालले भने, ‘अहिले त्यही बिडा नातिले धान्न लागेको छ ।’

बालबालिकाको त्यस अभियानले सबै प्रभावित छन । अहिले हिँड्ने बाटोका खाल्डाखुल्डी पुरिएका छन । पालैपालो बोल्ने गर्दा बालबालिकामा बोल्ने बानीको विकास भएको छ । अगाडि उभिएर ढुक्कसँग बोल्न सक्ने भएका छन । कसलाई कसरी सम्बोधन गर्ने, आफ्नो जिम्मेवारी के ? कसरी निर्वाह गर्ने ? यी आदि कुराहरूले उनीहरूमा व्यक्तित्व विकास गराएको छ । बालबालिकाहरू समाजका नमुना बन्दै अगाडि बढेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.