प्रारम्भ खबर ।
साउन २४, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले प्रत्येक घरबाट निस्किने फोहोरमैला व्यवस्थापन गर्न सम्बन्धित संस्थाहरुसंग छलफल तथा साझेदारी बहस सञ्चालन गरेको छ ।

छलफलमा शुक्रबार फोहोर न्यूनिकरण र व्यवस्थित बनाउन नगरवासीलाई चेतना अभिवृद्धि तथा नयाँ कार्यविधि सहित योजना ल्याएको नगर प्रमुख कृष्णहरी थापाले बताएको छ । नगरपालिकाको फोहोर संकलनका लागि ५ व्यवसायिक संस्थाहरु सूचिकृत गराइएको र भदौ १५ बाट लागू गरिने छलफलमा बताएको छ । फोहोरमैला व्यवसायीक संस्थाका प्रतिनिधिहरु र सामाजिक संस्थाहरुको प्रतिनिधि सहितको छलफलमा प्रत्येक घरमा निस्किने फोहोरलाई पहिचान गरी कुहिने र नकुहिने वस्तुलाई आफ्नै घरमा व्यवस्थापन गर्न नगरवासीलाई प्रचारप्रसारको अभियानबाट चेतना प्रदान गर्ने नगरको योजना रहेको बताएको छ ।

त्यस्तै उक्त छलफलमा फोहोरमैला व्यवसायिक संस्थाका प्रतिनिधिहरुले फोहोरमैला संकलनमा भोगेका जोखिमलाई अन्त्य गर्न सबै नागरिक सचेत हुनपर्ने सुझाव दिएका छन् । घरेलु फोहोरमा विभिन्न सिसाका टुक्रा तथा सुई सिरेन्ज जस्ता वस्तुहरु समेत मिसाएर फाल्ने गरेकाले संकलनकर्ताहरु त्यसको सिकार बन्न बाध्य भएको प्रतिनिधिहरुको गुणासो रहेको छ । त्यस्तै फोहोर उठाएबाफत दिनुपर्ने शुल्कमा समेत केही उपभोक्तहरु आनाकानी गर्दै दुःख दिने गरेको बताए ।

नगरभित्रका हरेक पसल, व्यवसायिक फर्म, घर, स्कूल, होटल तथा अस्पताललाई मूल्य निर्धारण गरी फोहोर संकलनमा सहज बनाउन नगरपालिकाले समन्वयन गर्ने बताएको छ । सार्वजनिक स्थानहरुमा फोहोर फालेमा कानुनी कारवाही सहित जरिवाना गरिने नगरपालिकाको योजना सार्वजनिक भएको छ ।

