साउन २१, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–९ हनुमान चोकबाट सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको २१ लाख २२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको महोत्तरी गाउँपालिका–१ डामी बस्ने ३५ वर्षिय सुरेन्द्र ठाकुर छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । हनुमान चोकबाट ज ११ प १७३२ नम्बरको मोटरसाइकलमा जलेश्वरतर्फ जाँदै गरेका ठाकुरलाई सशस्त्रको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा उनले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका ठाकुरलाई बरामद रकमसहित आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग महोत्तरीमा बुझाएको छ ।

