साउन २०, काठमाडौँ । प्रतितिनिधि सभाको जारी गतिरोध अन्त्य हुने भएको छ । सत्तारुढ र प्रतिपक्षी दलबीच लामो समयदेखि भइरहेको गतिरोध हटाउन सहमति जुटेको हो ।
सभामुख कृष्णबहादुर महराले सोमबार डाकेको सर्वदलीय बैठकले संसदको गतिरोध अन्त्य गर्दै सदनलाई प्रभावकारी बनाउने सहमति गरेको सभामुखका प्रेस सहयोगी डिल्ली मल्लले जनाएका छन् । आगामी दिनमा सदनमा गतिरोध उत्पन्न हुन नदिन संविधान, संसदीय नियमावली र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन सात सदस्यीय विशेष समिति गठन गर्ने सहमति पनि गरिएको छ ।
समितिका सदस्यहरुको नाम सभामुख महराले आजै बस्ने बैठकमा बाचन गरी सुनाउने बताइएको छ । सर्लाहीमा असार पहिलो साता नेकपा माओवादी विप्लव समूहका कुमार पौडेलको प्रहरी भिडन्तमा मारिएको भन्ने सरकारी दाबीप्रति असहमति जनाउँदै कांग्रेस र राजपाले संसदीय छानविन समिति गठनको माग गर्दै तीन सातादेखि सदन अवरुद्ध पार्दै आएका थिए ।

