घटेन आत्महत्याको प्रवृत्ति

साउन १३, पाल्पा । पाल्पामा हरेक वर्ष आत्महत्या सम्बन्धी घटनामा बृद्धि हुदै गएको देखिन्छ । प्रेममा बिछोड, पारिवारिक कलह तथा सामाजिक संजालको दुरुपयोग, मानसिक रोग तथा दीर्घ रोग इत्यादि कारणले पाल्पामा आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गत तीन वर्षको अवधिमा पाल्पा जिल्लामा मात्रै दुई सय ३० जना बढीले आत्महत्या गरेका छन । प्रेम, मानसिक रोगी, दीर्घ रोगी, गरिबी,सामाजिक संजालको दुरुपयोग आदि कारणले पाल्पामा हरेक वर्ष आत्महत्या सम्बन्धी घटना बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाको भनाइ रहेकोे छ । समस्याबाट मुक्त हुनका लागि मानिसहरुले विष सेवन गरेर, झुण्डिएर, आगो लगाएर, नदी खोलामा हाम फालेर आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
बालबालिका, युवायुवतीले प्रेमको आवेगमा आत्महत्या गर्ने गरेका छन्, केहीले एसईई परीक्षामा अनुत्तीर्ण भएको, आफूले रोजेको प्रेमी प्रेमिका नपाएको भन्दै आत्महत्या गरेका छन भने बुढाबुढी, बृद्धाले भने दीर्घरोगका कारण आत्महत्याको बाटो रोज्ने गरेका हुन । यस्तै चरम गरिबीको समस्यामा रहेका मानिसले समेत आर्थिक बोझ सहन नसकी आत्महत्या गर्ने गरेका छन । अन्यले परिवारबाट हेपिएको, श्रीमान।श्रीमातीले धोखा दिएको कारण पनि आत्महत्या गरेको पाइएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७३ । ०७४ मा विष सेवन गरेर ९ जना र झुण्डिएर ६६ जना गरी ७५ जनाले आत्महत्या गरेका छन । यस्तै आर्थिक वर्ष २०७४ र ०७५ मा विष सेवन गरेर ८ जना, झुण्डिएर ५७ जना र पानीमा हाम फालेर २ जना गरी ६७ जना र आर्थिक वर्ष २०७५ र ०७६ मा विष सेवन गरेर १० जना, झुण्डिएर ७३ जना, हाम फालेर ५ जना र आगो लगाएर १ जना गरी जम्मा ८९ जनाले आत्महत्या गरेका छन ।

जिल्ला प्रहरी कार्र्यालय पाल्पाले गाँउ गाउँमा भएका कार्यक्रममा अपराध न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रममा आत्महत्याका बारेमा सचेतना कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

एक वर्षअघि सम्म जिल्लाका विभिन्न संघसंस्थाले आत्महत्या न्युनीकरण सम्बन्धी कार्यक्रम गर्दे आइरहेका थिए । तर पछिल्लो वर्ष भने आत्महत्या न्युनीकरण सम्बन्धी कुनै पनि सचेतनामुलक कार्यक्रम हुन सकेको छैन ।यसले पनि आत्महत्या गर्ने मानिसको संख्यामा बृद्धि भएको अनुमान गर्न सकिन्छ ।

आत्महत्या रोक्न तथा कम गर्नको निम्ती सचेतना मूलक कार्यक्रमहरुको आवश्यकता तथा परिवारमा एकअर्काप्रति निगरानी, माया तथा स्नेहको जरुरी देखिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.