साउन १०, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन् ।
खनालले लागूऔषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको पनि व्यवस्था गर्ने घोषणा गरे । शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खनालले लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा सो सम्बन्धी २–२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको बताए ।
खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे । लागू औषधको दूव्र्यसनीका कारण पनि सडक दुर्घटना बढ्ने काम भइरहेको उल्लेख गर्दै त्यसलाई त्रियन्त्रण गर्न प्रभावकारी कदम चाल्न पनि प्रहरीहरुलाई खनालले सचेत गराए । प्रहरी महानिरीक्षक खनालले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने न्यूनिकरण हुँदै गएको गएको बताउँदै दुर्घटनाको अर्को कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

