गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो

साउन ९, गुल्मी । गुल्मीस्थित  सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा  परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मंगलबार ९ जनाको शव भेटिएकोमा बुधबार थप ३ जनाको शव फेला परेसँगै मृतकको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । बुधबार वडा नं. ३ को ठुलोलुम्पेकमा पहिरोमा वेपत्ता भएका माया बिक र उनका छोरा बबी विकको शव फेला परेको हो । वडा न. ४ लिम्घामा डेढ वर्षीय बालक सञ्जुको शव फेला परेको प्रहरीले जनाएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमांशु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिलकुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । लिम्घामा अझै सात वर्षीय तारा विक बेपत्ता छन् ।

हेलिकप्टरबाट घाइतेलाई काठमाडौं लगियो

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरोमा घाइते भएका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।सत्यवती गाउँपालिका ३ का करिष्मा तरामु र धनी तरामुलाई बुधबार हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं पठाइएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैले राहत लिएर आएको हेलिकप्टरमा उनीहरुलाई काठमाडौ लगेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.