गुम्बा पुनःनिर्माणको रकम फ्रिज

साउन ८, बनेपा । विसं २०७२ को भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणका लागि प्राप्त बजेट काम नै शुरु नभई फ्रिज भएको छ ।

भूकम्प गएको चार वर्ष बितिसक्दासमेत क्षति भएका गुम्बाको लाभग्राही सूची नै प्रकाशित नगरेका कारण काभ्रेपलाञ्चोक जिल्लामा गुम्बा पुनःनिर्माणको काम शुरु नै भएको छैन । तर असारको अन्तिम सातामा आएर लाभग्राहीको सूचीमा परेका गुम्बाको विवरणसँगै पुनःनिर्माणका लागि प्राप्त रु एक करोड ७४ लाख ६० हजार रकम भने रकम सम्झौतासमेत गर्न नपाउँदै फ्रिज भएको हो । अर्थ मन्त्रालयबाट समयमै बजेट विनियोजन नभएका कारण गुम्बा पुनःनिर्माणको काम शुरु गर्न नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले बताउनुभयो । “लामो समयपछि बल्ल पुनःनिर्माण र मर्मतका लागि काम गर्नुपर्ने गुम्बाको सङ्ख्या सूचीकृत भएपछि असार अन्तिम सातामा मात्रै रकम विनियोजन गरी पठाएकाले काम शुरु नै गर्न नपाई प्राप्त रकम फ्रिज भएको हो”, कार्यालयका प्रमुख आचार्यले बताउनुभयो ।

जिल्लामा गुम्बा पुनःनिर्माणका लागि पाँच समूहमा वर्गीकरण गरी ११२ गुम्बा लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । जसमध्ये एक गे्रडमा २०, दुई ग्रेडमा १३, तीन ग्रेडमा १५, चार ग्रेडमा १६ र पाँच ग्रेडमा ४८ गुम्बा परेका छन् । प्रमुख आचार्यले ग्रेड एकदेखि तीनसम्मको गुम्बा मर्मतमा मात्रै पर्ने र ग्रेड चार र पाँचको मात्रै पुनःनिर्माणमा पर्ने बताउनुभयो । “तीमध्ये ग्रेड चार र पाँचमा पर्ने गुम्बाहरुले मात्रै सम्झौता गरेर काम गर्न पाउँछन्”, उहाँले भन्नुभयो, “बाँकीको हकमा सम्बन्धित गाउँपालिकाले लागत सहभागितालाई सुनिश्चित गरेर आएको खण्डमा ग्रेड र पहिला गुम्बा निर्माण भएको प्रकृतिको आधारमा रकम पाउने व्यवस्था निर्धारण गरिएको छ ।”

उहाँका अनुसार त्यसरी आएका गुम्बाहरुले एक ग्रेडको रु तीन लाख, दुई ग्रेडका लागि एकतलाको भए रु पाँच लाख र दुई तलाको भए रु १० लाख तथा तीन गे्रेडकालाई एक तलाको लागि रु १० लाख र दुई तलाभन्दा बढी भएमा रु २५ लाखसम्मको अनुदान पाउने व्यवस्था रहेको कार्यालयले जनाएको छ । चार र पाँच ग्रेडको गुम्बाको हकमा भने कस्तो प्रकृतिको बनाउने र कतिको बनाउने भन्ने निश्चित गरेर जति पनि लागतको बनाउन सकिने तर त्यसका लागि सम्बन्धित गुम्बा र प्राधिकरणले ५०÷५० प्रतिशत लागत ब्यहोर्ने गरी पुनःनिर्माण गर्न सकिने उहाँले बताउनुभयो । जिल्लामा भएका गुम्बामध्ये कतिपयले बेलैमा सम्बन्धित निकायले पुनःनिर्माणका लागि चासो नदिएको भन्दै गुम्बा व्यवस्थापन समिति आफैँले पुनःनिर्माण गरिसकेका छन् । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.