साउन ०३, काठमाडाै । भारतबाट नेपालमा पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आजबाट आउन सुरु भएको छ । मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइन विछ्याइएको छ ।
यो पाइपलाइनमा गत बुधबार डिजेल परीक्षण गरिएको थियो । आजबाट पेट्रोलियम पदार्थ आउन थालेको नेपाल आयल निगमले जनाएको छ । निगमका निर्देशक वरुरेन्द्र गोइतले गत मंगलबार हाइड्रोलिक टेस्ट गरेको जानकारी दिनुभयो । यो परीक्षणमा पानी पठाइएको थियो । त्यसपछि बुधबार डिजेल पठाइएको हो । तेल भण्डारका लागि डिजेलका लागि अमलेखगञ्जमा ४ वटा ट्यांकी राखिएकोछ । त्यसमध्ये २ वटा ट्यांकी ३९ लाख किलोलिटर र २ वटा ट्यांकी ४१ लाख किलोलिटर क्षमताका छन । पेट्रोलियम पदार्थ आउने पाइपलाइनको गोलाई १० दशमलव ७५ इञ्च छ ।
भारतबाट नेपालमा पेट्रोलियम पदार्थ पठाउँदा अत्याधुनिक सफ्टवेयरको प्रयोग गरिने निगमले जनाएकोछ । भारतीय आयल निगम र नेपाल आयल निगम दुबैतर्फको कन्ट्रोल रुमबाट विशेष प्रविधि प्रयोग गरी तोकिएको मात्रामा तेल नेपालतर्फ भित्रिनेछ । भारतीयभन्दा नेपाली भूभाग अलिक उचाइमा भएकाले नेपालतर्फ पेट्रोलियम पदार्थ ल्याउन मेसिनको प्रयोग हुनेछ । पाइपलाइन दैनिक ८ घण्टा सञ्चालन हुने र ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आउने बताइएको छ ।
नेपालमा पेट्रोलियम पदार्थको दैनिक माग भने हाल ६ हजार ५ सय किलोलिटर छ ।

