गण्डकी प्रदेश सरकारले दियो प्रहरीलाई ३५ वटा मोटरसाइकल

साउन २, काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुका लागि ३५ थान मोटरसाइकलहरु हस्तान्तरण गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा बुधबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेलाई उक्त मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री गुरुङले सवारी साधनको अभावका बाबजुद पनि उत्कृष्ट सेवा प्रदान गरिरहेको नेपाल प्रहरीलाई अब समयानुकूल परिष्कृत गर्दै लैजानुको विकल्प नरहेको बताए ।

प्रहरी इकाईहरुको स्तरवृद्धि एवं स्रोत साधनमा आत्मनिर्भर बनाउन गण्डकी प्रदेश सरकार तत्पर रहेको बताउँदै मुख्यमन्त्री गुरुङले मोटरसाईकल हस्तान्तरण पश्चात प्रहरी सेवा प्रवाहमा थप सहजता आउने कुरामा आफु विश्वस्त रहेको उल्लेख गरे । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विकासको मुख्य आधार नै शान्ति सुरक्षा भएकाले प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले उपलब्ध स्रोत साधनहरुको भरपुर सदुपयोग गर्दै प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन गण्डकी प्रदेश प्रहरी सदैव कटिवद्ध रहने उल्लेख गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.