रङ्गशालाको डिपिआर तयार, १०० रोपनी क्षेत्रफलमा निर्माण गरिने

साउन ०२, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो ।

ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालय वरपर रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको नाममा रहेको १०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी गरिएको छ । “हाल विद्यालयको नाममा १७० रोपनी क्षेत्रफल जग्गा छ, त्यहीमध्ये १०० रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्नका लागि डिपिआर गरेका हाैँ, वडाध्यक्ष रेग्मीले भन्नुभयो ।

नगरपालिकाले रङ्गशाला निर्माणलाई लक्षित गरेर बाटो सुधारका लागि आगामी आर्थिक वर्ष रु १५ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । रङ्गशालाभित्र फुटबल मैदान, कभर्डहल, पार्किङ, चमेना गृह, टिकट काउण्टर, प्रशासनिक भवनलगायत निर्माण गरिनेछ । रङ्गशाला निर्माणका लागि करीब रु २० करोड बजेट आवश्यक पर्ने देखिएको वडाध्यक्ष रेग्मीले बताउनुभयो ।

“नगरपालिकाकै ठूलो ‘प्रोजेक्ट’को रूपमा रङ्गशालालाई लिएका छौँ”, रेग्मीले भन्नुभयो, “नगरपालिका एक्लैको प्रयासले मात्रै यो सम्पन्न गर्न सम्भव छैन । सबै तहका सरकारलाई रङ्गशाला निर्माणमा सहयोग गर्न अनुरोध गर्नेछाँै ।” उहाँका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार, नगर विकास कोष तथा अन्य दातृ निकायलाई आकर्षित गरी यथाशीघ्र निर्माण प्रक्रिया शुरु गर्नका लागि नगरपालिकाले कदम लिनेछ ।

नगरपालिकाले वडान नं ४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको जग्गामा नगर बसपार्क निर्माणका लागि पनि डिपिआर तयार गरेको छ । त्यस्तै नगरपालिका–२ एक्लेखेतमा चिस्यान केन्द्र निर्माणका लागि पनि डिपिआर तयार भएको नगरपालिकाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.