साउन १, काठमाडौं । सरकारले प्रविधिमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू गरेको छ ।
राजश्व अनुसन्धान विभागले व्यवसायिक प्रयोजनका मालसामानको संक्षिप्त विवरण इन्ट्री गरेर मात्र मालसामान ओसार–पसार गर्नुपर्ने प्रणाली लागू गरेको छ । आज काठमाडौंमा प्रविधिमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली सुभारम्भ गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले औपचारिक, पारदर्शी र बैध व्यवसायलाई प्रवद्र्धन गर्न प्रविधिमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली सुरु गरिएको बताउनुभयो । अर्थमन्त्री डा. खतिवडाले प्रविधिको उपयोगबाट राजश्व प्रणालीलाई औपचारिक, बैध र पारदर्शी बनाउन ढुवानी अनुगमन प्रणाली सहज हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री डा। खतिवडाले आजदेखि लागू भएको प्रणालीमा केही व्यावहारिक कठिनाई भए त्यसलाई सहज बनाउन सरकार नीजिक्षेत्र सँगसंगै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ढुवानी अनुगमन प्रणाली लागू गर्ने कार्यले सरकारको सुशासनको अभियानमा सघाउने विचार व्यक्त गर्नुभयो ।
उहाँले ढुवानी प्रणाली लागु भएपछि आउने व्यवहारिक कठिनाइ हटाउन प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम चलाउन सुझाव दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष मोरले मालवस्तु ढुवानीलाई व्यवस्थित गर्दै राजश्वका ढाँटहरु हट्ने पक्ष सकारात्मक भएपनि केही व्यवहारिक कठिनाई रहेको बताउनुभयो । नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले ढुवानी अनुगमन प्रणाली स्वागतयोग्य रहेको बताउनुभयो ।

