प्रारम्भ खबरको पहिलो वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

असार २७, काठमाडौँ । सत्कार मिडिया हाउसद्वारा सञ्चालित प्रारम्भ खबर डटकमले पहिलो वार्षिक उत्सव तथा प्रारम्भ सम्मान कार्यक्रम गरी सम्पन्न गरेको छ ।

खोज, अनुसन्धान र पारदर्शी सञ्चारको लागि प्रारम्भ खबर भन्ने नारा सहित आफ्नो वर्षदिनको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएका छन् । सञ्चार, कला साहित्य र शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई प्रारम्भ सम्मानबाट सम्मानित गरिएका हुन् ।

सञ्चारकर्मी टीकाराम यात्री (सञ्चार), लेखक तथा साहित्यकार रमेश शुभेच्छु (कला, साहित्य) युवा प्राचार्य शुशील अधिकारी (शिक्षा) बाट सम्मानित भएका छन् । यात्रीले पत्रकारिता क्षेत्रलाई मूल पेसा र सेवाका रुपमा अपनाई समाजमा सकारात्मक चेतनाको सञ्चार गर्ने बहुमुखी युवा प्रतिभा प्रस्तुत गरी सञ्चार प्रवाह गर्न सफल भएकोमा प्रारम्भ सञ्चारबाट सम्मान गराएका हुन् । यात्री एपीवान टेलिभिजनको प्रधानसम्पादक समेत हुन् । शुभेच्छु नेपाली भाषा साहित्यकै उच्च शिक्षा लिई सिर्जना र समालोचना, साहित्यिक पत्रकारिता र प्राध्यापन जस्ता बहुविध क्षेत्रका बहुमुखी युवा प्रतिभा स्वारुप प्रारम्भ कला, साहित्य सम्मानबाट सम्मानित भएका छन् । अजय अधिकारीलाई आम नागरिकका सन्ततिले सुलभ शिक्षा पाउन नसकिरहेका बेला सर्वसुलभ शिक्षामा समता शिक्षा सदनका माध्यमबाट शिक्षा सेवामा समर्पित रहेर आफ्नो जीवनलाई योगदान पु¥याए स्वरुप प्रारम्भ शिक्षा सम्मानबाट सम्मानित भएका छन् । अधिकारी हाल समता शिक्षा सदनका प्राचार्य समेत हुन् ।

त्यस्तै विभिन्न क्षेत्रमा क्रियाशिल रही समाजलाई सकारात्मक योगदान पु¥याउँदै आउनुभएका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएका छन् । सम्मान हुनेहरुमा क्रमशाः फोहोरमैला व्यवस्थापन गरी तीन दर्जन युवालाई स्वारोजगार उपलब्ध गराउने बाबुराम तामाङ, गाउँठाउँको विकासमा प्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै सामाजिक उत्तरदायित्व बोध गराउने सुकबहादुर लोप्चन (जीवन) र मृर्गौला रोगीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन सामाजिक चेतनासहितको अभियान सञ्चालन गर्ने अभियान्ता कुलबहादुर मगर (रविन) लाई प्रारम्भ खबरबाट कदरपत्रले सम्मान गरेका हुन् ।

वार्षिक उत्सव तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व कानुमन्त्री शेरबहादुर तामाङले प्रारम्भ खबरलाई शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रले समाजलाई वास्तविकताको जिम्मेवारी र दायित्वतर्फ डो¥याउन आग्रह गरेका छन् ।  पूर्व मन्त्री तामाङले समाचारको वास्तविकता र गहिराईको खोजी गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सञ्चार माध्यमले महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै सञ्चार माध्यम र पत्रकारीता जगत पूर्वग्राही भएर नलाग्न समेत सुझाव दिएका छन् ।

प्रारम्भ खबर सम्मानका लागि प्रतिभा छनोट समितिका संयोजक तथा कलाकार श्रीकृष्ण सिम्खडाले समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुको सम्मानले थप उत्साह र उर्जा मिल्ने र प्रारम्भ खबरले आगामी वर्षहरुमा पनि उत्कृष्ठ प्रतिभालाई सम्मान गर्ने सकारात्मक कार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस महासमितिका सदस्य गणेश लामा, विपी संग्रहालयका संस्थापक अध्यक्ष पर्शुराम पोख्रेल, नेकपाका नेता टिआर नेपाल, महिला उद्यमी सुस्मा महरा, सामाजिक अभियान्ता सुर्वण बैद्य लगायतका व्यक्तित्वहरुले प्रारम्भ खबरलाई शुभकामना व्यक्त गरेका थिए ।  प्रारम्म खबरका सम्पादक भीम लामा सभापतित्वमा रहेको उक्त कार्यक्रम अनिल अधिकारीले सञ्चालन गरेका थिए ।

तस्बीरः कृष्ण खत्री

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.