रमेश शुभेच्छु |
घरायसी बजेट प्रस्तुति समारोहका सभामुख महोदय: मेरी हजुरआमा,
वृद्धामन्त्रालयका माननीय मन्त्रीज्यू: मेरा बा र मेरी आमा
महिला मत्रालयका माननीय मन्त्रीज्यू: मेरी अर्धाङ्गिनी
बालमन्त्रालयका मन्त्रीज्यू: मेरा सुपुत्र एवम् सुपुत्री महोदय,
मेरा आफन्त, कुलकुटुम्ब, स्वजन र छरछिमेकीहरु
आजको यस पारिवारिक भव्य उपस्थितिमा म यस परिवारको गृह एवम् अर्थमन्त्री बार्षिक बजेट प्रस्तुत गर्न अनुमति माग्दछु । गत वर्ष उपलब्ध आय र व्याजमा यो बर्ष बढ्ने ५० प्रतिशनसमेत आय र व्याजको आधार मानेर यो बजेट तयार पारेको छु । यस वर्ष हाम्रो परिवारको ऋण भार २५ प्रतिशतले वृद्धि भएको छ । त्यसले बजेट विस्तार भन्दा सबै क्षेत्रमा केही कम बजेटको व्यवस्था गरी मिलान गर्नु पर्ने भएको छ । पारिवारिक रुपमा प्रतिसदस्य कति ऋण भार पर्यो भन्ने कुराको हिसाब अहिले नगरुँ ।
कुल बजेटबारे यहााहरुलाई अनुमान छँदैछ । देशको बजेटमा वृद्धभत्ता बृद्धि भएकाले हाम्रा परिवारको बृद्धामन्त्रालयको बजेटमा दश प्रतिशत कटौटी गरेको छु । वृद्धामन्त्रालयमा बदनाम बनिरहेका तास, चुरोट र मदपानको खर्चमा पाँच प्रतिशतले कटौती गरेको छु । परिवारमा बढिरहेको चन्दा र दक्षिणा आतङ्क एवम् हातैपिच्छेका मोवायलले गरेको आर्थिक भारसहितको सञ्चार आतङ्क कम गरी बृद्धा मन्त्रालयका लागि पाँच केजी तौलका दुई सिरक र भुइँमा बाक्लो कार्पेटसहित एउटा हिटरको व्यवस्था गरेको छु । यस मन्त्रालयका लागि थर्मस, टह व्याग, थर्ममिटर, प्रेसर जाँच र सुगरजाँच मिसिनको व्यवस्थाका लागि बजेट छुट्याएको छु । यसै मन्त्रालयका लागि एउटा चुठुवा र थुकुवाको पनि व्यवस्थाका लागि बजेट छुट्याएको छु । यी सामग्रीहरुको प्रयोग यस परिवारका समाभुखको कार्यलय र वृद्धमन्त्रालयले मिलाएर प्रयोग गर्नुपर्ने छ । हामी यस वर्षको बजेटबाट परिवारलाई आर्थिक व्यायभार चढाउन सम्भव देखिरहेका छैनौँ । वृद्धामन्त्रालय र सभामुखको खर्चको प्रकृति मिल्ने भएकाले र परिवारका सवै सभासद् मन्त्री नियुक्त भइसकेकाले अहिलेलाई सभामुखकको कार्यालय र बृद्धामन्त्रालयको खर्चलाई एकद्धारप्रणालीबाट खर्च गर्ने गरी व्यवस्था मिलाएको छु ।
महिला मन्त्रालयको बजेट निकै आकर्षक छ । यस मन्त्रालयको मर्मत संभार शिर्षक अन्तर्गत गाजल, लाली, लिपिस्टिक, कपाल रङ्ग्याउने अधिकतम तीन रङको स्याम्पु र पाउडर किन्न साबिकको बजेट यथावत राखी बजार भाउवृद्धिलाई मध्यनजर गर्दै प्रति महिना रू १११ का दरले बजेट बृद्धि गरेको छु । महिला मन्त्रालयका लागि छुट्याइँदै आएको पफ्र्युम, जेल, व्युटीपर्लरको खर्च, फेसियल, फेसवास, मसाज, हेयर स्टेट, थ्रेट जस्ता बहुमुखी शिर्षकका साबिक बजेट कटौती गरी सावुन पानी र घरायसी उपकरणले नै काम चलाउने गरी व्यवस्था गरेको छु । बृद्धामन्त्रालय, बालमन्त्रालय र मेरो मन्त्रालयबाटसमेत महिला मन्त्रालयको बजेटप्रति प्रश्न उठाउँदै आइएकामा यस वर्षदेखि समानुपातिक बजेट वितरणको व्यवस्था मिलाएको छु । गतवर्ष प्रतिमहिना एक जोडी चप्पल व्यवस्था हुँदै आएकामा यसवर्षबाट प्रति तीन महिना एक जोडी चप्पल, गत वर्ष प्रतिमहिना सँगी शिष्टाचार र भोज चल्ने गरेकामा यस वर्ष भने बर्षमा दुई पटक मात्र हुने व्यवस्था मिलाएको छु । त्यस्तै प्रतिमहिना खर्च गर्ने गरी छुट्याएको मेहन्दी खर्च कटौती गरी वर्षमा एक पटक खर्च गर्ने गरी पूर्ण बजेटको दुई प्रतिशत बजेट छुट्याएको छु । यस मन्त्रालयलाई दिइँदै आएको सेनीटरी प्याडको खर्च यथावत रहेको जानकारी गराउँछु । यस मन्त्रालयको खुसीका लागि प्रतिवर्ष एक आकर्षक पर्यटक स्थलको नयाँ योजना ल्याएको छु । बहुपर्यटनको खर्च कटौती गरी अर्थमन्त्रालयको नयाँ पर्स जोड्ने र गृहमन्त्रालयको महिनावारी किस्ता वा घरभाडामा मिलान गर्ने गरी व्यवस्था मिलाएको छु ।
बालबालिका मन्त्रालयअन्तर्गत फेसबुक, ल्यापटप र ट्याब्लेटको खर्च कटौती गरी प्रति महिना एक पुस्तकको आकर्षक कार्यक्रम ल्याएको छु । पुस्तकसँगै मुना मासिक जस्ता केही बाल पत्रिकाको आकर्षक कार्यत्रम पनि राखेको छु । दैनिक चकलेटको खर्चलाई गृहमन्त्रालयको चिया विभागको चिनी खर्चमा मिलान गरेको छु । दैनिक र साप्ताहिक आइसक्रिम, कुर्मुरे, कुर्कुरे, लेज र चटपटे खर्चलाई गृह मन्त्रालयको भान्सा विभागको तर्कारी खर्चमा मिलान गरेको छु । साविक बालबालिकाले चकलेट खानमा भएको खर्चलाई यस वर्षबाट गृहमन्त्रालयको बाथरुम विभागमा रहने टुथपेस्ट र ब्रसको खर्चसँग मिलान गर्ने व्यवस्था मिलाएको छु । यसबाट खर्च बचे पोषिला खानेकुराहरु व्यवस्था गरिने व्यहोरा जानकारी गराउँदै जसका लागि आवश्यक बजेटको ब्यबस्था गरेको छु । बालबालिका मन्त्रालयका सदस्यका लागि गतवर्षको पोशाक खर्च यसवर्ष कटौती गरी त्यसलाई यातायात खर्चमा मिलान गरेको छु । यस वर्षका सबै पार्टी र पाहुना यात्रामा पुरानै पोशाकले काम चलाउनु पर्ने हुँदा त्यस खर्चलाई बाल मन्त्रालयको साबुन पानी र आइरन खर्चमा मिलान गरेको छु । त्यसबाट केही खर्च वचत हुन आए केही मात्रामा स्वास्थ्य उपचार कोश वृद्धि हुने व्यवस्था मिलाएको छु । बालबालिका मन्त्रालयअन्तर्गत शिक्षा विभागको खर्चलाई भने गतवर्षका तुलनामा पाँच प्रतिशत वृद्धि गरी २५ प्रतिशत पुरयाएको छु । यो खर्च अनावश्यक जङफुड र खेलौनामा दुरुपयोग नहुने गरी कडा अनुगमनको व्यवस्था मिलाएको छु । यस बाट बचेको खर्चबाट बालमैत्री केही गोप्य कार्यक्रम राखेको छु ।
सभामुख महोदय,
घरको आर्थिक उन्नति र भौतिक बिकास यस वर्षको मुख्य लक्ष्य भएकोले बिगतमा वृद्धामन्त्रालयलार्य दिईदै आएको तीर्थयात्रा भत्ता,, तीर्थअनुसारका पोशाक भत्ता, दानपात्र भत्ता, दानका नाममा सम्मान अभिनन्दन खरिद भत्ता र स्वास्थ्यलाई प्रत्यक्ष परोक्ष असर पार्न सक्ने अमलहरुको बजेट दश प्रतिशतले कटैती गरेको छु । त्यस्तै महिला मन्त्रालयको पार्टी लगायतमा जानको लागि पटके पोशाक भत्ता खारेज गर्दै पुराना कपडाले चलाउने योजना प्रस्ताव गरेको छु । पटके मेकअपका सामग्री भत्ता कटौती गरी यसका साथै महिना दिनसम्म तिज मनाउने परम्परामा हुँदै आएको खर्चमा कटौटी गरी पाँच प्रतिशतमा झारेको छु । वर्षमा छ चोटि माइती दुतावास र माइती घरमा ओहोरदोहोर गर्ने खर्च कटौती गरी घरलाई रङरोगन लगाउने खर्चको व्यवस्था गरेको छु । यस कार्यका लागि बालमन्त्रालयको खेलकुद सामग्री र हाटवजार खर्चलाई पनि कटौती गरी घरको भौतिक विकासलाई थप पाँच प्रतिशत बजेट छुट्याएको छु । यस वजेटको खर्च बृद्धामन्त्रालय, महिला मन्त्रालय र बालमन्त्रालयको सहकार्यमा धाराका टुटी, किचनका भाँडा वर्तन, बैठककोठाका फुटेका टेबल, फुटेका सिसा, भाँचिएका छाताका करङ, छिँडपरेका जुत्ताका तलुवा, चुटिएका चप्पलका फित्ता आदि मर्मतमा खर्च गरिने छ । यस कार्यबाट केही बजेट बचत हुन आएमा वैठक कोठाको पर्दा परिवर्तन गर्ने र त्यसबाट पनि बचत भए आफूहरुको शयन कक्षको तन्ना र सिरानेको खोल फेर्ने एवम् वृद्धामन्त्रालयका मन्त्रीज्यूको सयन कक्षको सिरकको खोल फेर्ने व्यवस्था मिलाएको छु । गृहमन्त्रालयको घर मर्मत खर्च अन्तर्गत तीन प्रतिशत बजेट छानो मर्मतका लागि व्यवस्था गरेको छु ।
गतवर्ष प्रिवारमा पाहुना स्वागत सत्कारमा बढी खर्च भएको आम गुनासोलाई मध्यनजर गरी यस वर्ष अरु पाहुना नआउन् भन्नका लागि आफू पनि कतै सबारी नचलाउने नीति अगाडि सारेको छु । यसमा वर्षमा एकपटक मात्र महिला मन्त्रालयको दुतावाससँग समन्वय गरी माइत सवारी हुने, बाल मन्त्रालयको एक पटक मात्र आफ्नो मन्त्रालयको विभागको सम्बन्धित घरको दुतावासको समन्वयमा मावल सवारी हुने र वृद्धा मन्त्रालयको एक पटक मात्र तीर्थाटन हुने व्यवस्था गरेको छु । यी मन्त्रालयका सदस्यहरुको सवारीमा सानो टोलीलाई मात्र यात्रा अनुमति दिइने व्यवस्था मिलाएको छु ।
वृद्धामन्त्रालयको बढ्दो बहुरोग, मेरो मन्त्रालयको सुगर, प्रेसर, महिला मन्त्रालयको स्त्रीरोग एवम् बाल मन्त्रालयको झाडापखाला, रुघाखोकी निमोनिया, अनिद्रा महामारीका रुपमा फैलिएको हुँदा यस वर्षको बजेटको २० प्रतिशत स्वास्थ्य क्षेत्रलाई छुट्याएको छु । दिनप्रतिदिन मन्त्रालयैपिच्छे बढदा रोगलाई मध्यनजर गर्दै स्वस्थ बनौ शाकाहारी रहौ र स्वस्थ्य बनौँ नयाँ जबरजस्ती पकाएका फलफूल बहिस्कार गरौँ जस्ता दुई लोकप्रिय कार्यक्रम अगाडि सारेको छु । यी कार्यक्रमको प्रभावकारी कार्यन्वयनका लागि यस मन्त्रालयको भान्सा विभागलाई सिद्रा, सिकुटी, माछा, मासु, अन्डा, पहेँला आँप, पहेँला केरा, रसिला काँक्रा आदिमा दिइँदै आएको अनुदान कटौति गरेको छु । यसको सट्टामा वृद्धामन्त्रालयका लागि योग र हाम्रो मन्त्रालयका लागि मर्निङवाक गर्ने जुत्ता, महिला मन्त्रालयका लागि विशेष कसरतका वर्तन र बाल मन्त्रालयका लागि खेलकुदका सामग्री व्यवस्था मिलाएको छु । भान्साका लागि चना, मटर, दाल, दुध, दही र घिउको व्यवस्था मिलाएको छु । केही प्रतिशत बजेट रायोको साग, स्कुसका मुन्टा र फर्सीका मुन्टाका लागि छुट्याएको छु ।
सभामुख महोदय । मेरो आफ्नो मन्त्रालयले गतवर्ष धुमपान, मध्यपान र मनोरञ्जनमा बढी खर्च गरेको भन्ने आम जनगुनासोलाई मध्यनजर गरी यस वर्षबाट ती क्षेत्रका खर्चको बजेटमा भारी कटौती गरेको छु । यस सम्बन्धमा पुनर्विचार गर्न वृद्धामन्त्रालयलाई पनि परिपत्र गर्ने व्यवस्था मिलाएको छु । मेरो मन्त्रालयबाट भएको यातायात खर्चमा यस वर्ष पाँच प्रतिशतले कमी ल्याउने योजना अगाडि सारेको छु । मेरो मन्त्रालय र महिला मन्त्रालयको सक्रियतामा भइरहेको परिवारमा बढ्दो जनसंङ्ख्या नियन्त्रण गर्न प्रसुति खर्चमा दिईदै आएको अनुदान यो बर्षबाट शून्यमा झारेको छु । प्रुसुति खर्चबाट बचत हुन आएको बजेटबाट परिवार नियोजन योजनामा खर्च हुने व्यहोरा अनुरोध गर्दछु । अर्थमन्त्रीका हैसियतले यी खर्चहरुमा मेरो मन्त्रालयमा बिल पेश नगरी खर्च गर्न नपाउने गरी नयाँ नियम लागु गरेको छु । यस नियमअनुसार चल्न सके हाम्रो परिवारको समृद्धि छ अङ्कको हुनेमा म ढुक्क छु ।
परिवारमा अशान्ति बढ्दै गएको कुरा छरछिमेकसम्म विस्तार भएकाले सुशान्तिका लागि १५ प्रतिशत बजेट छुट्याएको छु । घरायसी शान्तिका लागि मौन ब्रत, अनसन, भोकहडताल, मुर्मुरीने कला आदिको अभ्यासका लागि दक्ष प्रशिक्षकको व्यवस्था गरेको छु । आइन्दा अशान्ति, झगडा, घर नै बहिष्कारका मुद्दामा शून्य सहनशीलताका साथ सबै मिलौँ घर बनाउँको लोकप्रिय नारा अगाडि सारेको छु । मेरो मन्त्रालय र महिला मन्त्रालयवीच मैले गर्दा राम्रो र तिमीले गर्दा नराम्रो भयो भन्ने नारा पूर्णत बहिस्कारको नयाँ नियम बनाएको छु । यसमा आरोप प्रत्यारोप, हिलोछ्यापाछाप, हात छोडाछोड, खुट्टा छोडाछोड, मुख छोडाछोड गर्न नपाइने नियम यही आर्थिक वर्षबाट पूर्ण रुपमा लागू हुने गरी व्यवस्था मिलाएको छु । कुनै पक्षबाट नियम उल्लंघन भएमा कडा भन्दा कडा कारबाही गर्नका लागि गृहमन्त्रालयमा परिपत्रका लागि व्यवस्था मिलाएको छु । महिला मन्त्रालयबाट हुँदै आएका सासुससुरालाई कुरा लाउने र माइत र घर कुरा ओसारपसार गर्ने नीति परिवारको हित विपरीत हुँदा यसको पूर्णत अन्त्यको सुधारमुखी नीति यो बर्षबाट लागू गर्न आवश्यक कानुन निर्माण हुनेछ ।
मेरो जिम्मेवारी रहेका अर्थ र गृहमन्त्रालयलाई अरु मन्त्रालयको बजेट व्यवस्था गर्दागर्दै केही बजेट अपुग भएकाले यस वर्षका लागि पुरानै मिसिनले दाह्री काट्ने, पुरानै ब्रसले दाँत माझ्ने, पुरानै पोषाकले वैठक र पार्टी भ्याउने, वर्षमा एक पटक पनि विदेश सवारी नहुने गरी चित्त बुझाऊ नीति लिएको छु । महिला मन्त्रालयको माइती सवारीमा ससुराली सवारी नचलाउने, बाल मन्त्रालयको हाटबजार सवारीमा आफ्नो सवारी नचलाउने, अरुलाई तीन छाक व्यवस्था गरेर आफू एक छाक मात्र ग्रहण गर्ने, पुरानै जुत्ता चप्पलले काम चलाउने, पुरानै सवारी र अन्य वर्तनको मर्मत गरी काम चलाउने गरी आफ्ना लागि जम्मा एक प्रतिशत बजेट छुट्याएको छु । यस मन्त्रालयको मेकअप खर्च महिला मन्त्रालयसँग सहकार्य गरी काम चलाउने गरी व्यवस्था गरेको छु यो बजेट समाजवादी र प्रगतिशील भए पनि आफ्ना हकमा भने भान्सेले ९९ प्रतिशत बाँडेर आफू एक प्रतिशत उपभोग गर्ने नेपाली परम्पराअनुसारकै अशुसरण गरिएको छ ।
गृहमन्त्रालयमा पाहुना आयैपिच्छे दुध चिया र कफी खुवाउँदा भएको खर्चको अनुपात बढी देखिएकाले अर्थमन्त्रालयले केही आपत्ति जनाएको छ । अर्थ मन्त्रालयको गुनासो र खर्च अनुपात हेरी यस आर्थिक वर्षमा पाहुना सत्कारमा दुध चिया प्रयोगलाई शून्य प्रतिशतमा झारी कालो कफी र कालो चियाको प्रचलन चलाउने, भरिसक्के सङ्लो पानी अभियान चलाउने र सम्भव भएसमम चिल्ला कुराले काम चलाउने नीति अवलम्बन गर्नु पर्ने अवस्था आएको जानकारी गराउँछु । त्यसै गरी खाजा, फलफुल, समोसा, रसदाना, जेरी, मिठाइ जस्ता खाद्यय परिकारमा कटैटी गरी सस्तो दामको बिस्कुटबाट काम चलाउने व्यवस्था गरेको छु । गृहमन्त्रालयअन्तर्गत भान्सा व्यवस्थानमा पनि उक्त फरक फरक विधिअनुरुपकै आलोपालो विधि अवलम्बन गरी अधिकतम मितव्ययिताको नीति अगाडि सारिएको छु। सरसफाइमा भ्याकु, ब्रस, कोलिन, हार्पिक, स्प्रिड आदिको खर्च कटौती गरी सावुन पानी र कुचो खरेटो आदिबाट काम चलाउने व्यवस्गथा मिलाएको छु ।
मलाई विश्वास छ । यस बजेटको कार्यान्वयनका लागि हाम्रो मन्त्रालयका साथै वृद्धामन्त्रालय, बालमन्त्रालय र महिला मन्त्रालयको सराबरी सलग्नता रहने छ । जय परिवार
सदा शुभेच्छु
रमेश शुभेच्छु

