असार २४, काठमाडौं । चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’को पुरस्कार रकम बढाउने भएको छ ।
हरेक विधामा २५ हजार रुपैयाँ प्रदान गरिँदै आएकोमा अर्को वर्षबाट बढाएर ५१ हजार रुपैयाँ बनाउन लागिएको बोर्डले जनाएको छ । बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर यही २७ असारमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ । हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन ।

