असार २०, काठमाडौँ । रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा एउटा निर्मम घटना भएको छ।
३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ। बिमाको रकम हात पार्न बाबुले नै आफ्नै छोरीको हत्या गरेका हुन् । उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले यादवले छोरीको नाममा गरेको बिमा रकम हात पार्न आफूले हत्या गरेको स्वीकारीसकेको जानकारी दिए ।
रामकिशोरले नै असार १७ गते छोरी घरबाट हराएको भन्दै प्रहरीमा खबर गरेका थिए । त्यसको भोलिपल्टै प्रहरीले छोरीको शव गाउँकै पोखरीमा शव फेला पर्यो। रामकिशोर एक बिमा कम्पनीमा छोरीको २५ लाखको बिमा गरेका थिए । बिमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले कम्पनीलाई बुझाइसकेका थिए। एक महिनामै बिमकको मृत्यु भएमा दुई गुणा रुपैयाँ फिर्ता पाइने कुरा सुनेर उनले छोरीको हत्या गरेको खुलेको छ ।

