असार ९, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याबारे सत्य तथ्य छानबीन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
गत असार–५ गते सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका विप्लव इन्चार्ज पौडेलको मृत्यु पछि संघीय संसदमा प्रश्न उठेको थियो । आइतबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तारुढ दलका सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले दोहोरो भिडन्तका नाममा नेत्र विक्रम चन्द (विप्लव) समूहका इन्चार्ज कुमार पौडेलको हत्या गरिएको भन्ने समाचार र जनआवाज उठेको भन्दै गृहमन्त्रीको जवाफ माग गरेका थिए । सोमबार बसेको समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पूर्वगृहमन्त्रीको प्रश्नको जवाफ दिदैं प्रहरीको बचाउ गरेका थिए । उनले दोहोरो मुठभेडमा प्रहरीको गोली लागि पौडेलको मृत्यु भएको दाबी गरे ।
पौडेललाई पक्राउ गरि गोली हानी हत्या गरेको आशंका भन्दै समितिले गृहमन्त्री थापालाई एक हप्ता भित्र सत्यतथ्य छानबीन गर्न अल्टिमेटम दिएको हो । मृत्यु शंकास्पद देखिएकाले घटनाको छानबीन सहित एक हप्ता भित्र सत्यतथ्य रिपोर्ट बुझाउन निर्देशन दिइएको समितिले जनाएको छ ।

