कुमार पौडेलको मृत्यु मृत्युबारे गृहमन्त्री थापा र पूर्वगृहमन्त्री शर्माको फरक तर्क

असार ९, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमै भएको बताएका छन्।

संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएर गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउदा पौडेलको मृत्यु भएको बताएका हुन्। प्रहरीले गस्ती गर्ने क्रममा जम्काभेट भएको र शुरुमा प्रहरीमाथि गोली प्रहार भएको उनले बताए। उनले उक्त घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जंगलतर्फ भागेकोले खोजी जारी रहेको प्रहरीले जनाएको छ।

‘अनटेस्ट मोटरसाइकलसहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरी लक्षित फायर सुरु गरेपछि प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो,’ समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’ असार ५ गते दिउँसो २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर(दक्षिण बाटोमा पौडेल मारिएका थिए।

पूर्वगृहमन्त्री जनार्दन शर्मा

पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् । प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उनको भनाइ छ ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’ गोली लागेर मारिएको व्यक्तिको हात ६(७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने उनको भनाइ छ । उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको पूर्वगृहमन्त्री शर्माले बताए ।

सोमबारको बैठकमा गृहमन्त्री थापाले पौडेलको मृत्यु प्रहरीको जवाफी कारबाहीमा भएको जवाफ दिएका छन् । गस्तीमा रहेको प्रहरी टोलीलाई पौडलसहितको समूहले फायर गरेकाले प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा पौडेलको मृत्यु भएको गृहमन्त्रीको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.